माओवादी नेता बञ्जाडेको सडक दुर्घटनामा मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

रुपेन्देही । सडक दुर्घटनामा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडे टङ्कमणिको ५५ वर्षको उमेरमा आज निधन भएको छ ।

दाङबाट बुटवल फर्कँदै गर्दा गएराति करिब ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना ७ ख ९०६ नं को बसले बञ्जाडे सवार लु २६प ५८९८ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते बञ्जाडेको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे निधन भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए ।

दाङमा घाइते तथा अपाङ्गताको बैठकमा सहभागी भएर फर्कँदै गर्दा घर नजिकै बुटवल जीतगढीमा उनको दुर्घटना भएको हो । माओवादीको सशस्त्र द्वन्द्वदेखि नै भूमिगत राजनीतिमा लागेका बञ्जाडेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताले निवासमा पुगेर श्रद्धाञ्जलि दिए ।

नेता बञ्जाडेको आजै तिलोत्तमास्थित मगरघाटमा संस्कार गर्ने कार्यक्रम छ । अर्घाखाँची धारापानीमा जन्मिनुभएका बञ्जाडेका श्रीमती, एक छोरा र एक छोरी छन् । —रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्