धौलागिरि बहुमुखी क्याम्पसमा थपियो छात्रावास सुविधा

Ad
  • कालोपाटी सम्बाददाता

गलकोट । धौलागिरिको एक मात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पसमा छात्रावासको सुविधा थप भएको छ । यसअघि छात्रहरुका लागि मात्रै आवासीय सुविधा दिँदै आएको क्याम्पसले हालै सुविधासम्पन्न छात्रावास निर्माण सम्पन्न गरेको छ ।

सरकारी क्याम्पसका रुपमा रहेको सो क्याम्पसमा साबिक धौलागिरि अञ्चलको बागलुङसहित मुस्ताङ, म्याग्दी र पर्वतका विद्यार्थीहरु स्नातक तथा स्नातकोत्तर तह अध्ययन गर्दै आएका छन् । बाहिरी जिल्लाबाट आएर कोठा भाडा तिरेर अध्ययन गर्ने विद्यार्थीका लागि लक्षित गरी छात्रावास तयार गरिएको क्याम्पसले जनाएको छ ।

कोठा भाडामा बसेरसमेत अध्ययन गर्न नसक्ने विद्यार्थीहरुलाई क्याम्पसले निःशुल्क रुपमा आवासीय सुविधा दिन लागेको क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले जानकारी दिए । “खासगरी दुर्गमबाट आएका जेहेन्दार र गरिब विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालयले बनाएको नियमका आधारमा विद्यार्थी छनोट गरेर आवासीय सुविधा दिइन्छ,” उनले भने , “आवासको अभावमा यसअघि छात्रहरुका लागि आवासीय सुविधा दिए पनि छात्रालाई दिन सकिएको थिएन, अहिले रु तीन करोड लागतमा सुविधासम्पन्न छात्राहरुका लागि आवास निर्माण गरिएको छ, अहिले बेड बिस्तारा तयारीमा छौँ, केही समयभित्रै विद्यार्थीलाई आवासीय सुविधा दिनेछौँ ।”

दुई वर्षअघि निर्माण सुरु गरेको छात्रावासले पूर्णता पाएपछि क्याम्पसले पहिलोपटक छात्राहरुका लागि आवासीय सुविधा दिन थाल्नेछ । अहिले निर्माण भएको नयाँ भवनमा ७५ महिला विद्यार्र्थी राख्न सकिने क्याम्पसले जनाएको छ । छात्रावास पर्खालले घेरेर निकै सुरक्षित र सुविधायुक्त समेत बनाइएको क्याम्पसको भनाइ छ । यसअघि छात्रावास नहुँदा गरिब तथा विपन्न र दुर्गमका विद्यार्थीहरुले कोठा भाडा तिरेर अध्ययन गर्दै आएका थिए भने केही विद्यार्थी छात्रावासको अभावमा पोखरा काठमाडौँ जाने गरेका थिए ।

भवनको तीन चरणमा ठेक्का सम्झौता गरी निर्माण सम्पन्न भएको थियो । ए।ए कन्सट्रक्सन प्रालि र सातबिसै निर्माण सेवासँग ठेक्का सम्झौता गरी भ्याटबाहेक रु एक करोड ९८ लाखमा ३१ हजार लागतमा निर्माण सम्पन्न भएको हो ।

तीन तलाको सुविधासम्पन्न छात्रावासभित्रै चमेनागृहको समेत व्यवस्थापनका लागि काम भइरहेको छ । छात्रावाससँगै अध्ययनका लागि वञ्चित भएका दुर्गमका जेहेन्दार विद्यार्थीहरुलाई समेत अवसर हुने क्याम्पसका विद्यार्थी कल्याण प्रमुख कमल शर्माले जानकारी दिए ।

“कतिपय विद्यार्थीहरु छात्रावासको अभावमा पोखरा काठमाडौँसमेत जाने गरेका थिए, महिला विद्यार्थीलाई झनै समस्या थियो,” उनले भने , “छात्रा तथा छात्रवासले धौलागिरि क्याम्पसप्रति विद्यार्थीको आकर्षण झनै बढाउनेछ । निजी क्याम्पसप्रति विद्यार्थीको आकर्षण रहेको सन्दर्भमा यहाँको क्याम्पसमा भने दुई हजार विद्यार्थीले अध्ययन गरिएको क्याम्पसको तथ्याङ्कमा उल्लेख गरिएको छ । क्याम्पसमा विज्ञान, वाणिज्यशास्त्र, मानविकी र शिक्षा सङ्कायमा स्नातक तथा स्नातकोत्तर तहको अध्यापन भइरहेको छ  । – रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्