किबी खेतीबाट मनग्य आम्दानी

Ad
  • कालोपाटी सम्बाददाता

बनेपा । थाक्रोभरि फिँजिएको लहरोमा लटरम्म किबी फलिरहेको छ । टाढाबाट हेर्दा खासै केही नदेखिने लहराको थाक्रोभित्र पुगेर हेर्दाभने मनै लोभ्याउने गरी लटरम फलेको किबीले काम गर्ने किसानलाई थप मेहनत गर्न हौसल्ला मिलेको छ । जसको स्याहार सम्भार गर्ने काम बुद्ध स्याङतान परिवारले गर्दै आएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ फस्कोटमा विगत १६ वर्षदेखि किबीको स्याहार गर्दै आउनुभएका स्याङतानले यसबाट मनग्गे आम्दानी हुने बताए । आफूसँग काम गर्ने आँट र जाँगर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण किबी खेतीले दिएको छ । उहाँका अनुसार अब मङ्सिरको दोस्रो–तेस्रो सातादेखि किबी टिप्ने र ग्रेडिङ गरेर बजारीकरण गर्ने काम सुरु हुनेछ । हिमालयन अर्गानिक किबी फर्मले उत्पादन गर्दै आएको सो खेती १६ रोपनी जग्गामा भइरहेको छ ।

एउटा बोटमा ६० देखि ७० किलोसम्म फल्ने गरेको छ । फराकिलो क्षेत्रफलमा रोप्नुपर्ने भएकाले एक रोपनी जग्गामा करिब २० बोटसम्म खेती गर्न सकिने उहाँको भनाइ छ । रोपेको बोटबाट एक रोपनी क्षेत्रफलमा वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको उनले बताए । यस हिसाबले यस खेतीबाट वार्षिक रु १६ लाखसम्म आम्दानी हुँदै आएको उनको भनाइ छ ।

विसं २०६२÷६३ सालदेखि रोप्न सुरु गरेको सो खेती रोपेको तीन वर्षदेखि फल लाग्न थालेकोमा अहिले वार्षिक रुपमा निरन्तर उत्पादन र बिक्री हुँदै आएको स्याङतानले बताए । “अहिले वार्षिक ६÷७ टन उत्पादन हुन्छ”, उनले भने “उत्पादन भएको किबी गुणस्तर भएकाले बिक्री भएन भनेर चिन्ता लिनुपर्ने अवस्था छैन, स्तर अनुसारको उत्पादनको मूल्य पाउने गरेको छ ।”

नार्कमा जागिरे पाण्डेले जागिरबाट अवकासपछि किबी बगैँचा स्थापना गरेपछि मकवानपुर जिल्ला वाग्मती गाउँपालिका– ९ बेतेनी लिति घर भएका उहाँले अब व्यावसायिक रुपमा किबी खेतीमा काम गर्ने अवसर पाउनु भएको हो । सामान्यतया किबी फलेको २४० दिनमा फल पाक्ने गर्दछ । “वैशाखमा फल्न सुरु गरेर मङ्सिरसम्ममा पाकेर बेच्न तयार हुन्छ”, उनले भने , “ग्रेडिङको आधारमा आधा किलोको ए ग्रेडको रु ३५०, बी ग्रेडको रु २५० र सी ग्रेडको रु १५० देखि २०० सम्ममा बिक्री हुन्छ ।” खेती गर्नेले एक पटक टिपेर थुपार्ने गरेका कारण समस्या आउने गरेको देखेको तर आफूहरुले गरेको खेतीमा भने मागको आधारमा टिप्ने र बजारीकरण गर्ने गरेका कारण खासै समया नभएको उनको भनाइ छ ।

पाकेर धेरै टिप्नुपर्ने अवस्था आएमा चिस्यानकेन्द्रमा लगेर राख्ने गरेको कारण खासै समस्या नहुने उहाँले बताउनुभयो । एक पटक लगाएपछि ५०–६० वर्षसम्म फल दिने किबीमा खासै रोग नलाग्ने भएकाले दुःख धेरै गर्नुनपर्ने र एक पटक लगाएपछि निरन्तर फल लिन पाउने भएका कारण पनि खती गर्नलाई सहज हुने उनको भनाइ छ । किबी खेतीसँगै सो फर्मबाट बिरुवासमेत बिक्री गर्दै आएको छ । सो फर्ममा फल बिक्रीका साथै नर्सरीसमेत राखेर थप आयआर्जन गर्दै आएको हो । कामदार स्याङतानका अनुसार भूकम्प अगाडि वर्षको ६÷७ हजार गोटा बिरुवा बेच्ने गरेकोमा त्यसपछि भने अहिले एक हजारदेखि एक हजार ५०० सम्म बिरुवा बिक्री हुने गरेको उनले बताए ।

सबै अर्डर अनुसार नै बिरुवा उत्पादन गरी थप आम्दानी गर्दै आएका छन् । यहाँ उत्पादन भएका किबी काठमाडौँ भाटभटेनी सुपरमार्केटमा ग्रेडिङ गरेर प्याकेट बनाई बिक्री गर्दै आएको उनले बताए । फर्म सञ्चालक पाण्डेले तेमाल गाउँपालिका–६ ठूलो पसलमा करिब ५०–६० रोपनीमा ड्रागन फ्रुट र मेकाडेमिय नटको खेती गरिरहैका छन् । यसअघि सबै परिवार नै सो फर्ममा काम गरेको उनले अब छुट्टै गर्ने सोच बनाएको सुनाए । त्यसका लागि चार पाँच रोपनी जग्गाको व्यवस्थापनमा लागिरहको उनको भनाइ छ । अहिलेसम्ममा उहाँले मासिक रु २० हजारमा फर्म सञ्चालक डा सूर्यप्रसाद पाण्डेकोमा काम गर्दै आएका छन् ।

सोही फर्ममा काम गरेको अनुभवको आधारमा नर्सरी सुरु गर्न लागिएको उहाँले बताउनुभयो । खेती सुरु गरेदेखि त्यही काम गर्दै आउनुभएका उनले अब आफैले किबीलगायत एभोकाडो, कागतीको नर्सरी व्यवसाय सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ । “स्थापनाकालदेखि नै यही काम गरेँ, अब आफैले लगानी गरेर छुट्टै नर्सरी व्यवसाय सुरु गर्ने गरी सबै तयारी गरिसकेको छु”, उनले भने , “उत्पादन हुने बिरुवा बिक्री गर्न कुनै समस्या नहुने भएकाले नर्सरी व्यवसाय गर्ने तयारीमा छु ।”

समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिकतत्व भएको फलको रुपमा किबी रहेको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ । एउटै रुखमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो ४०० देखि ६०० रुपैयाँसम्ममा सजिलैसँग बिक्री हुने गरेको किसानको भनाइ छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्