पोखरामा थपिँदै नयाँ पुस्ताका रक्तदाता

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । पोखरामा नयाँ रक्तदाता थपिनेक्रम बढेको छ । रक्तदानप्रति बढ्दो जनचेतनासँगै नयाँ पुस्ताका रक्तदाता थपिन थालेका हुन् । पोखरा शहर र आसपासमा दैनिक जस्तो हुने गरेको रक्तदान कार्यक्रमा सहभागी हुनेमध्येका २० देखि २५ प्रतिशत नयाँ रक्तदाताको सहभागी हुने गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए । उनका अनुसार रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र तथा सञ्चारगृहद्वारा रक्तदान जीवन दानका बारेमा गरिएका पहलका कारण पछिल्लो समय रक्तदानप्रति विद्यार्थी तथा युवा वर्गको आकर्षण बढ्दै आएको छ ।

अठार वर्षदेखि ६० वर्षसम्म उमेर समूहका प्रत्येक व्यक्तिले वर्षमा चार पटकसम्म रक्तदान गर्नसक्ने बताउँदै उनले पोखरामा दैनिक ७० देखि ८० युनिट रगतको आवश्यकता पर्ने गरेको जानकारी दिए । नयाँ रक्तदाता थपिनुका साथै पुरानाले निरन्तर दिने गरेका कारण जस्तोसुकै अवस्थामा पनि यस क्षेत्रका विभिन्न सङ्घसंस्था एवं व्यक्तिको सक्रिय सहभागिता र सहयोग हुँदा आवश्यकताअनुसार रगतको व्यवस्था गर्दै आएको उनको भनाइ छ ।

पोखरामा एभरेष्ट मिडिया हाउसद्वारा सञ्चालन गरेको एभरेष्ट एफएम ९३ मेगाहर्ज र एभरेष्ट आवाज डटकमद्वारा शनिवार आयोजित रक्तदान कार्यक्रमा ४५ जना नयाँले रक्तदान गर्दा माथि उल्लेखित तथ्याङ्कलाई पुष्टि गरेको छ । विशेषगरी मङ्सिर महिनामा पोखरामा हुने गरेको रगत अभावलाई परिपूर्ति गर्ने लक्ष्यका साथ आयोजित रक्तदान कार्यक्रममा कूल १८६ युनिट रगत सङ्कलन भएको थियो ।

त्यसैगरी रेडियोले दोस्रो वर्षमा प्रवेश गरेका अवसरमा यसअघि माछापुच्छ्रे गाउँपालिका–२ बाराही आधारभूत विद्यालय खाँदरजुङका ४३ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो । सो रेडियो शुभारम्भको अवसरमा गत वर्ष सामाजिक उत्तरदायित्व वहनअन्तर्गत र्नै मानवसेवा आश्रम पोखरालाई रु एक लाख ५० हजार सहयोगसमेत गरेको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्