कार्यालय प्रमुखविहीन भएपछि एक महिनादेखि सेवा बन्द

Ad
  • कालोपाटी सम्बाददाता

बनेपा । इलाका प्रशासन कार्यालय देवीटारमा कार्यालय प्रमुख नभएपछि त्यहाँका नागरिक सेवा लिनबाट बञ्चित भएका छन् । कार्यालयमा कार्यरत कार्यालय प्रमुखलाई कायममुकायम दिएको समयसीमा सकेपछि अरु कार्यालय प्रमुखको व्यवस्थापन नभएका कारण इलाका प्रशासन कार्यालबाट नागरिकतालगायतका सेवा दिने काम रोकिएको हो ।

जिल्लाका विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम धुलिखेलसम्म आएर नागरिकता बनाउन धेरै समय र खर्च व्यहोर्नुपर्ने अवस्था थियो । विसं २०७५ जेठ ९ गते महाभारत गाउँपालिकाको बनखुचौरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गरी सो क्षेत्रका नागरिकलाई त्यहीबाट नागरिकता वितरणको काम सुरु गरिएको थियो । अहिले कार्यालय प्रमुखको व्यवस्थापन गर्न नसक्दा त्यहाँका नागरिक फेरि नागरिकता बनाउनका लागि धुलिखेल धाउनुपरेको छ । इलाका प्रशासन कार्यालय महाभारत देवीटारका कार्यालय प्रमुख रामप्रसाद शर्माले आफूले पाएको कार्यालय प्रमुखको म्याद समाप्त भएपछि नागरिकका लागि सूचना जारी गरेर अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा रोकिएको बताए ।

गत कात्तिक १२ गते कार्यालयमा सूचना जारी गरिएको थियो । “नागरिकता प्रमाणपत्र जारी गर्ने र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिने कार्य २०७८ कात्तिक १३ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको छ”, उक्त सूचनामा उल्लेख छ । कार्यालय प्रमुखविहीन भएपछि अहिले इलाका प्रशासन कार्यालयमा कम्प्युटर अपरेटर र कार्यालय सहायकले कार्यालय खोलेर नागरिकता बनाउने र प्रतिलिपि बनाउन आउनेको आवश्यक कागजात सङ्कलन गरेर राख्ने र आवश्यक परामर्श दिने काम मात्रै भइरहेको छ ।

कार्यालयका प्रमुख रामप्रसाद शर्मालाई कायममुकायम अधिकार दिएर तोकिएको ६ महिनाभन्दा बढी भएको र त्यो समय सकेर अर्को कार्यालय प्रमुखको व्यवस्थापन नभएपछि त्यहाँबाट प्रवाह हुने सेवा रोकिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । “नियमले ६ महिनाभन्दा बढी कामु दिन नमिल्ने भएको र अरुलाई पठाउन पनि समस्या भएका कारण प्राविधिक हिसाबले समस्या देखिएपछि कार्यालय प्रमुखविहीन भएको हो”, उनले भने । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्