तीन पालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन, राजस्व छुटमा एम्बुलेन्स खरिद

Ad
  • कालोपाटी सम्बाददाता

जुम्ला । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकामध्ये तीन पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । सिञ्जा उपत्यकामा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए ।

जुम्लाको सदरमुकाम खलङ्गादेखि पैदल यात्रा गर्दा एक दिनमा सिञ्जा उपत्यका पुगिन्छ । त्यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन् । त्यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिनका लागि सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जिल्लामा आउनुपर्ने बाध्यता भएपछि तीनै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन् । त्यो सबै क्षेत्रमा मोटरबाटो पुगिसकेको छ । सिंजाको कनकासुन्दरी गाउँपालिकाले हालै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

हिमा र सिञ्जाले यसअघिदेखि नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेका थिए । राजस्वकर छुटसहित रु १० लाख ८१ हजारमा एम्बुलेन्स पालिकामा पुगेको कनकासुन्दरीका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले जानकारी दिए । गाउँपालिका रोजगार संयोजक हंसराज न्यौपानेका अनुसार अघिल्ला वर्षदेखि नै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन खोजे पनि लामो प्रयासपछि राजस्व छुटमा एम्बुलेन्स खरिद गरी नागरिकलाई सेवा दिएको बताए ।

पालिकामा एम्बुलेन्स नहुँदा खलङ्गा एम्बुलेन्स मगाउनुपर्ने समस्या बिरामीले भोग्दै आएका थिए । यो वर्षदेखि त्यो समस्याबाट नागरिकले उन्मुक्ति पाएको यहाँका स्थानीय तहका प्रमुख बताउँछन् । आकस्मिक सेवा प्रवाह गर्नका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमा गाउँपालिका सिञ्जा अध्यक्ष देवलसिंह रावलले बताए ।

सदरमुकामदेखि टाढा रहेको पातारासी गाउँपालिकाले पनि एम्बुलेन्स सेवा दिँदै आएको छ । यहाँका गुठीचौर, तातोपानी र तिला गाउँपालिका पनि एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा रहेको गाउँपालिकाले जनाएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्