पर्यटक आगमनमा झिनो सुधार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नोभेम्बर महिनामा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बङ्गलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महिना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् । अक्टोबर महिनामा २३ हजार २८४ पर्यटक आएका थिए । तुलनात्मक रुपमा पर्यटक आगमनमा झिनो रुपमा सुधार देखिए पनि बाह्य पर्यटकको सङ्ख्या बढ्न सकेको छैन ।

बाह्य पर्यटक आगमनको पछिल्लो दुई महिनाको तथ्याङ्क हेर्दा झिनो रुपमा सुधार भएको छ । यद्यपि, पर्यटकको सङ्ख्या भने बढ्न सकेको छैन । यस वर्षको अघिल्लो महिनाको तुलनामा १२ प्रतिशत हाराहारी पर्यटक बढेको छ । पर्यटक आगमन बढेको भए पनि सङ्ख्यात्मक रुपमा कम पर्यटक भित्रिएको बोर्डका निर्देशक मणि लामिछानेले बताए । उनले भने , “पर्यटनले लय समातेको देखिन्छ तर सङ्ख्यात्मक रुपम कम नै हो । यो अवधिमा २० देखि ३० प्रतिशत पर्यटक बढ्ने अनुमान गरिएको थियो ।”

सन् २०१९ को अक्टोबर र नोभेम्बरलाई तुलना गर्दा पर्यटक औसत झण्डै उस्तै छ । उक्त वर्ष अघिल्लो महिनाको तुलनामा १३ प्रतिशत पर्यटक बढेका थिए । सन् २०१९ को अक्टोबारमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महिनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए ।

यसरी पर्यटक आगमनको औसत हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको सङ्ख्या दुई लाख पुग्न मुस्किल देखिएको छ । अघिल्लो वर्ष सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष दुई महिनामै दुई लाख हाराहारी पर्यटक आएका थिए । जनवरी र फेब्रुअरीमा अत्याधिक सङ्ख्यामा पर्यटक आएका थिए । सन् २०२९ मा ११ लाख ७२ हजार ७२ बाह्य पर्यटक नेपाल आएको तथ्याङ्क छ ।

यस वर्षको जनवरीमा आठ हजार ८७४, फेबु्रअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१, अगष्टमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८, अक्टोबारमा २३ हजार २८४ र नोभेम्बर महिनामा २६ हजार १३५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  – रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्