ऐतिहासिक चन्द्रगढीको पुनःनिर्माण

Ad
  • कालोपाटी सम्बाददाता

बन्दीपुर । पहाडकी रानी उपनाउँले परिचित बन्दीपुर–५ स्थित ऐतिहासिक चन्द्रगढीको पुनः निर्माण गरिएको छ । संरक्षणको अभावमा अलपत्र अवस्थामा रहेको उक्त गढीको गाउँपालिकाको सक्रियतामा संरक्षण गरिएको हो ।

बाइसे–चौबिसे राज्यको पालामा रहेको सो गढी लामो समयदेखि भग्नावशेषरुपमा रहेकाले पुनःनिर्माण गरी संरक्षण गर्न लागिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरी गढीको पुनःनिर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पैदलमार्ग निर्माण कार्य अघि बढाइएको छ । उक्त दरबारमा ढाल, खुँडा र तरबार हराउँदै गएकाले गाउँपालिकाले त्यसको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

चन्द्रकोट गढीको इतिहासको खोजी गरी पर्यटकीयस्थलका रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले गढीको संरक्षण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । उक्त गढी पुरातात्विक महत्व बोकेको स्थान भएकाले पुनः निर्माण गरी संरक्षण गरिएको उनको भनाइ छ ।

त्यसैगरी बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरी मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करिब चार किलोमिटर दूरीको मिनी ग्रेटवाल पनि पर्यटकको रोजाइ बन्ने गरेको छ । बन्दीपुरले रु एक करोड खर्च गरी चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवालतर्फ पर्यटक आकर्षित हुने गरेका अध्यक्ष थापा बताउँछन् ।

बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि भएको छ । अहिले बन्दीपुरमा आन्तरिक र बाह्य गरी दैनिक करिब दुई हजारभन्दा बढी पर्यटक आउन थालेका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । बन्दीपुर गाउँपालिका र संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको साझेदारीमा मिनीग्रेटवालको निर्माण प्रक्रिया अघि बढाइएको हो । रु तीन करोड ५० लाखको लागतमा निर्माण प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्