१६ जना किसान मिलेर सामूहिक च्याउखेती

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडाका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका छन् । गत वर्षबाट यहाँका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका हुन् । १६ जना किसान मिलेर सिताके च्याउखेती सुरु गरिएको छ ।

पाँच सय कटुसको मुढामा च्याउ लगाइएकोमा पहिलो वर्ष अपेक्षित उत्पादन नभएको तार्कुडाँडा भङ्गरा कृषक समूहका अध्यक्ष उदयराज खनालले बताउनुभयो । उक्त वर्ष ४७ केजी च्याउ उत्पादन भएको थियो ।

यसवर्ष भने रहर लाग्दो गरेर च्याउ उत्पादन भएको छ । मुढामा फलेका च्याउले किसानलाई उत्साहित बनाए पनि बजार नपाएपछि भने उनीहरु निराश बनेका छन् । बजार नपाएपछि किसान आफैले च्याउ उपभोग गर्न बाध्य छन् । अन्य च्याउले जस्तो सिताके च्याउले बजार पाउन नसकेको खनालले बताउनुभयो । “मेहनेत गरेर च्याउ फलायौँ । एउटै मुढामा सयको हाराहारीमा च्याउ फलेको छ । तर बजार पाउन सकेको छैन”, उनले भने ।

सिताके च्याउको मूल्य महँगो पर्ने भएकाले बजार नपाएको उनले बताए । सुरुमा रु ७०० प्रतिकेजीमा बिक्री गरेको च्याउ उत्पादन बढ्न थालेपछि रु ६०० मा बिक्री भइरहेको छ । “बजार पाउन मुस्किल भएपछि अझै मूल्य घटाउने तयारी गरेका छौं”, उनले भने , “यस क्षेत्रका उपभोक्ताले सिताके प्रजातिको च्याउलाई चिन्न सकेका छैनन् ।”

यो वर्ष असोज अन्तिमयता २०० केजी बढी च्याउ उत्पादन भइसकेको छ । अझै चार महिना उत्पादन हुने भएकाले कसरी बेच्ने यही चिन्ताले किसानलाई सताएको छ । अहिले उत्पादित च्याउ यहाँका कोत्रे, दुलेगौँडा, खैरेनीटार बजार क्षेत्रका घरघरै लगेर बिक्री गरिन्छ ।

सिताके शुक्लागण्डकीमा नयाँ प्रजाति भएकाले विषालु हुने आशङ्का गर्दै ग्राहकले खरिद गर्न नखोज्ने किसान समूहका सचिव खेम गुरुङले बताए । “पहिलो चरणमा त हामीले जनप्रतिनिधिलाई बेचेका छौँ । जनप्रतिनिधिले किनेपछि त अरुले पनि किन्लान नी भन्ने आशा पलाएको छ”, उनले भने , “पार्टी प्यालेस, होटल, रेष्टुरेन्टमा पनि बिक्रीका लागि प्रयास गरेका छौँ ।”

किसानले च्याउ खेतीमा हालसम्म झण्डै रु पाँच लाख लगानी गरेका छन् । शुक्लागण्डकी नगरपालिका–२ कार्यालयले बीउ खरिदमा गत आर्थिक वर्षमा रु ५० हजार अनुदान दिएको थियो । त्यसका लागि समूहमा आवद्ध किसानले रु ४८ हजार लगानी गरेका थिए । बाङ्गेरह थेप्चे र तारा सामुदायिक वनले च्याउ उत्पादन गर्न आवश्यक कटुसका मुढा निःशुल्क दिएको छ ।

तार्कुडाँडा भङ्गरा खानेपानी उपभोक्ता समितिले निःशुल्क आवश्यक पानी उपलब्ध गराएको छ । कटुसको स्याउलाले छाएर स्थानीय स्रोतसाधन प्रयोग गरी च्याउ लगाउन टनेल बनाइएको छ । छानोमा स्याउलाको सट्टा जुट राख्न उपयुक्त भए पनि उत्पादित च्याउले बजार नपाएपछि रकम अभावमा राख्न नसकेको गुरुङले बताए । “स्थानीय सरकार र कृषि ज्ञान केन्द्रसँग अनुदान भन्दा च्याउ खेतीमा आवश्यक औजारको अपेक्षा छ”, उनले भने ।

किसानका अनुसार सिताके च्याउले असोजको अन्तिमदेखि फागुन दोस्रो सातासम्म उत्पादन दिन्छ । एक पटक मुढामा बीउ रोपेपछि पाँच वर्षसम्म अर्थात मुढा नकुहिएसम्म उत्पादन दिने बताइन्छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्