म्याग्दीको केराखेतीमा गवाँरो

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । म्याग्दीमा केरा खेतीमा गवाँरो रोगको प्रकोप देखिएको छ । सो रोगका कारण किसान चिन्तित बनेका छन् ।

गत वर्ष चैतयता केरामा तीन पटक गवाँरो रोग लागिसकेको छ । कोसा लाग्ने बेलामा केरामा गवाँरो लागेपछि बोट सुकेका थिए । गत साउनमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले बताए । उनले लगाएका ४०० केराका बिरुवामध्ये ४० भन्दा बढी गवाँरोका कारण मरेका छन् ।

पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ४ सिंगा, थामडाँडालगायत क्षेत्रमा केराखेतीमा कीरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका छन् । बेनी नगरपालिका–२ बगरफाँटका दुर्गाबहादुर थापाका अनुसार बगरफाँटमा घुन र गवाँरोले सयौं रोपनीमा लगाइएको केराका बोट सुक्न थालेका छन् ।

केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित हुनुहुन्छ । उनले सात रोपनीमा केराखेती गरेका छन् । खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै जान थालेपछि सङ्कटमा परेको कार्कीले बताए ।

यहाँका किसानले धान फल्ने खेतमा केराखेती गर्दैआएका छन् । सुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवाँरोले केरा खेतीमा ठूलो क्षति पु¥याएको छ । बगरफाँट र खबरामा मात्रै ४०० रोपनीमा केराखेती गरिएको छ । केरा बेचेर खबरामा मात्र वार्षिक रु ५० लाखभन्दा बढी भित्रिने किसान बताउँछन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्