‘मानवअधिकार रक्षाका लागि सबै क्रियाशील हुनुपर्छ’ : उपराष्ट्रपति पुन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मानवअधिकार रक्षाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट क्रियाशील रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

त्रिहत्तरऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १३ औँ मानवअधिकार महाभेलाकोे उद्घाटन गर्दै उनले शान्तिप्रक्रिया टुङ्ग्याउने विषयमा विश्वको ध्यान नेपालतर्फ आकर्षित भइरहेको हुँदा सबै मानवअधिकारकर्मी मिलेर त्यसतर्फ ध्यान दिनुपर्ने बताए । “नेपालले मानवअधिकारलगायत अन्तर्राष्ट्रिय अन्य सन्धि महासन्धिमा हस्ताक्षर गरेकाले त्यसको उद्देश्य र लक्ष्यअनुसारको नेपालले काम गनुपर्ने अवस्था छ”, उनले भने , “त्यसअनुरूप नेपालले कार्यान्वयनमा ध्यान दिनुपर्छ ।” उपराष्ट्रपति पुनले मानवअधिकार महासन्धिले गाँस, बास, कपास, स्वास्थ्य शिक्षासहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकको रक्षा नै मानवअधिकार भएको ठहर गरेको भए पनि स्वास्थ्य र शिक्षा पूर्णरूपमा निःशुल्क गर्न नसकिएको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै समुदाय, क्षेत्र र वर्ग सबैलाई समानरुपमा मानव अधिकारको उपयोग गर्न पाउनुपर्ने बताए । मानव अधिकारकर्मी दमननाथ ढुङ्गानाले नेपाली नागरिकले लोकतन्त्र ल्याउनका लागि दिएको बलिदानको अर्थपूर्ण भए मानव अधिकारको दृष्टिकोणले राम्रो हुने बताए । महाभेलाका संस्थापक अध्यक्ष चरण प्रसाईले नेपालमा शान्ति प्रक्रिया निष्कर्षमा पुयाउनुपर्ने जरुरी भएको र त्यसका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिए । महाभेलाका संयोजक रोशना खड्काले मानवअधिकार रक्षामैत्री समाजको परिकल्पनाका लागि ऐक्यबद्धता र प्रतिबद्धता जनाउँदै महाभेलामा सहभागी सङ्घ संस्था, व्यक्ति, अतिथि सबैप्रति आभार व्यक्त गरे ।

महाभेला सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने तयारी छ । त्यसमा सक्रियतापूर्वक सहभागिता जनाउन पनि संयोजक खड्काको आग्रह छ । यस वर्ष मानवअधिकार राष्ट्रिय महाभेला कदर सम्मान– २०७८ बाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई र मानवअधिकार राष्ट्रिय महाभेला कदर सम्मान–२०७७ बाट भद्रमान घलेलाई सम्मान गरियो ।

त्यस्तै, पद्मरत्न तुलाधर राष्ट्रिय मानवअधिकार तथा शान्ति पुरस्कार– २०७८ बाट डा रेणु अधिकारी, सोही पुरस्कार २०७७ बाट मानव अधिकारकर्मी दमननाथ ढुङ्गाना, शान्तिलक्ष्मी महिला मानवअधिकार पुरस्कार–२०७८ मुस्कान खातुन र सोही पुरस्कार २०७७ बाट सपना रोका मगरलाई प्रदान गरिएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण पुरस्कार घोषणा मात्रै गरिएको हुनाले यस वर्ष वितरण गरिएको हो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्