महिलालाई नेतृत्वमा पुग्न सकस

Ad
  • कालोपाटी सम्बाददाता

तम्घास । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुकुमारी सापकोटा कांग्रेस गुल्मीकी निर्वतमान सचिव छन् । उनले सचिवपछि जिल्ला सभापतिकै आकांक्षा राखेका थिए । आफ्नो उम्मेद्वारीसमेत घोषणा गरेएकी उनीले अन्तत सभापति छोड्ीन् र प्रदेश सदस्यमा उम्मेद्वारी दिइन् ।

प्रदेशको निर्वाचनमा पनि जिल्लातर्फको महिला कोटाबाट उम्मेद्वारी दिइन् । “जिल्ला सचिव भएको बेला राम्रो काम गरेकी थिएँ, मेरो सक्रियता पनि थियो”, उनले भनिन् , “सभापति भएर काम गर्छुभन्ने थियो तर सम्भव भएन ।” पार्टीको जिल्ला बैठकमा आफ्नो नाम सभापतिका लागि सिफारिस नहुँदा दुःख लागेको सापकोटाको भनाइ छ । दुई उपसभापतिको व्यवस्था भए पनि जिल्ला वा पालिकामा एक जना महिला पनि उपसभापतिसम्म आउन नसक्नु सिङ्गो पार्टी नेतृत्वकै कमजोरी भएको उनले बताइन् ।

यस्तै मदाने गाउँपालिकाकी उपाध्यक्ष एवं नेकपा ९एमाले० जिल्ला कमिटी सदस्य सरिता खड्काले एमालेबाट पालिका अध्यक्षका लागि उम्मेद्वारी दिएकी थिइन् । अन्ततः ‘एक व्यक्ति एक पद’को अवधारणा आएपछि उनलाई अध्यक्ष बन्नै दिइएन् । “एक व्यक्ति एक पदको कुरा आएपछि मलाई उम्मेद्वारी फिर्ता गर्न बाध्य बनाइयो”, खड्काले भने , “चुनावमा गएको भए उम्मेद्वारी कायमै रहन्थ्यो ।” पुरुष प्रधान समाजमा महिला राजनीतिमा अगाडि आउनै नसकेको उनले उल्लेख गरे ।

कांग्रेस र एमालेमा मात्र होइन, नेकपा माओवादी केन्द्रमा पनि अवस्था उस्तै छ । धुर्कोट गाउँपालिकाकी कार्यपालिका सदस्य कमला घर्तीले पार्टीको धुर्कोटको सचिवमा दाबी गरे । “खटनपटनमा गाह्रो हुन्छ भन्दै धेरैले सम्झाउन खोजे , मैले हिम्मत हारिन”, उनले भने , “महिलालाई सामाजिक रुपमा पछाडि पार्ने वर्षौँदेखिको चलन हो ।” हिम्मत नहारेकै कारण आफु सचिव बन्न सफल भएको उनको भनाइ छ । पार्टीले जुनसुकै जिम्मेवारी दिए पनि पूरा गर्नसक्ने घर्तीको भनाइ छ ।

नेकपा माओवादी केन्द्रको रेसङ्गा नगरकमिटीकी अध्यक्ष गीता थापा भने आफूमा दृढइच्छ्याशक्ति हुनुपर्ने बताउँछन् । उनले भने , “महिलाले समाजका साथसाथै घर पनि सम्हाल्नुपर्ने हुनाले केही कठिनाइ छ ।” कांग्रेसको भर्खरै सम्पन्न निर्वाचनमा महाधिवेशन प्रतिनिधिमा खुल्ला कोटाबाट २० जना निर्वाचित भएपनि एउटा महिला अटाउन सकेनन् । महिला कोटाबाट आठ तथा खस–आर्य महिला कोटाबाट ६ जना बाहेक अन्य पदमा महिलाले स्थान पाउनै सकेनन् ।

कांग्रेसको जिल्ला पदाधिकारीका लागि २५ जना निर्वाचनमा होमिएकामा सबै पुरुष छन् । प्रमुख पद सभापति, दुई उसभापति, दुई सचिव, दुई सहसचिव र एक कोषाध्यक्षमा महिला अटाएका छैनन् । जिल्लाका १२ वटै पालिकामध्ये कांग्रेसबाट इस्मामा उपसभापतिमा पार्वता कुँवर र रेसुङ्गा नगरपालिकामा उपसभापतिमै सावित्रा भण्डारीबाहेक अन्य पालिकामा महिलालाई कांग्रेसले स्थान दिएको छैन ।

नेकपा एमालेको पालिका अधिवेशनअन्तर्गत केन्द्रीय प्रतिनिधिका लागि गुल्मीमा २१ जनाको कोटा थियो । महिलातर्फ चार र दलित महिलातर्फ एक जनाको कोटा थियो । एमालेले पनि महिलालाई कोटामा मात्रै सीमित राखेको छ । महिला कोटाबाट सीता भुसाल, नर्मदा भण्डारी, लक्ष्मीदेवी पन्थ र ललिता गौतम प्रतिनिधि थिए भने दलित महिलातर्फ जुना विश्वकर्मा प्रतिनिधि थिइन् । एमालेको जिल्ला कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवमा सबै पुरुष मात्र छन् । एमालेको केही समय पहिले सम्पन्न पालिका अधिवेशनमा कुनै पनि कमिटीमा अध्यक्ष, सचिवलगायत मुख्य भूमिका हुने पदमा महिलाले स्थान पाउन सकेका छैनन् । एमालेको ४५ सदस्यीय जिल्ला कमिटी सचिवालय सदस्यमा पाँच मात्रै महिला रहेका कार्यालय सचिव गणेश श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रका जिल्ला संयोजक वीरबहादुर कार्कीका अनुसार अहिले माओवादीको जिल्ला कमिटी जिल्ला समन्वय समितिमा रुपान्तरण भएको छ । संयोजकसहित १९ जनाको सचिवालय छ । सचिवालयमा तीन जना मात्रै महिला छन् । माओवादी केन्द्रको प्रदेश प्रतिनिधि चुनिएकामध्ये पनि अधिकाशं पुरुष छन् । माओवादी केन्द्रले सदरमुकाम रेसुङ्गा नगरपालिकामा महिलालाई अध्यक्ष बनाएको छ । पार्टीको धुर्कोट गाउँपालिकामा सचिव र कोषाध्यक्ष महिला छन् । अन्य पालिकाका पार्टी कमिटीमा प्रमुख पदमा महिला आउन सकेका छैनन् । माओवादी केन्द्रले २०७४ को स्थानीय तहको निर्वाचनमा इस्मा गाउँपालिकामा महिलालाई अध्यक्ष र पुरुषलाई उपाध्यक्षको उम्मेदवार बनाएको थियो ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख दलहरुले पालिका अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिलालाई उम्मेद्वार बनाएका थिए । माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको धुर्कोटमा माओवादी केन्द्रबाट अध्यक्ष र कांग्रेसबाट उपाध्यक्ष दुवै पुरुष उम्मेद्वार थिए । आगामी निर्वाचनमा पनि महिला उपाध्यक्षमै सीमित हुने देखिएको छ । अधिवक्ता एवं महिला अधिकारकर्मी हीरा कुँवर समाजमा पितृसत्तात्मक सोच हावी भएकाले महिला अगाडि आउन नसकेको बताउँछन् । दलमा पनि कार्यकारी पद नभएर उपाध्यक्ष, सहसचिव जस्ता कम भूमिका हुने पदमा राखेको कुँवरको भनाइ छ । महिला अरुलाई नेता बनाउन माध्यम बनेको तर आफू नेता बन्न नसक्नु दुःखद पक्ष रहेको उनको भनाइ छ ।

नेकपा एमाले जिल्ला सचिव सोमनाथ सापकोटा महिलालाई राजनीतिक रुपमा अगाडि बढाउन आफुहरु मानसिक रुपमै तयार नभएको स्वीर्काछन् । “दल र समाज मानसिक रुपमै तयार भएका छैनन्”, उनले भने “महिला कोटामै सीमित हुनुपरेको छ ।” महिला सहभागिता बढाउँदै लैजानुपर्नेमा उन जोड दिन्छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्