प्रदूषण र अतिक्रमणले जैविक विविधता नासिँदै

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । वातावरणीय प्रदूषण र मानवीय अतिक्रमणका कारण म्याग्दीका नदी तथा खोलाबाट जलचर प्राणी लोप हुँदै जान थालेका छन् । जथाभावी भइरहेको नदी दोहन, फोहरमैला विर्सजन तथा बाढी पहिराका कारण कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीबाट जलचर प्राणी नासिनाका साथै यस क्षेत्रको जैविक विविधता खल्बलिँदै गएको वातावरण संरक्षणकर्मीले बताएका छन् ।

विगत पाँच वर्षदेखि यी जलाधार क्षेत्रमा गएको पहिरो, बाढी र अत्यधिक मात्रामा भएको नदीको दोहनका कारण यी नदीहरुमा रहेका जलचर प्राणी लोप हुँदै गएको उनीहरुको भनाइ छ । भगवान विष्णुको प्रतिक मानेर पुजिने बहुमूल्य शिला शालिग्राम र जलचर प्राणीको बासस्थान मानिएको कालीगण्डकी नदीको नारच्याङ क्षेत्रदेखि सदरमुकाम बेनीसम्मको क्षेत्रमा जलचर प्राणीको अस्तित्व लोप हुँदै गएको पाइएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन जलविद्युत् अयोजनाका कारण पानीको प्राकृतिक गुणमा परिवर्तन भई वातावरणीय असन्तुलन हुन थालेपछि जलचरको अस्तित्व सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । नारच्याङ जलचर र जङ्गली जनावरको बासस्थानका लागि अत्यन्त अनुकूल स्थान भएको ठाउँ भनेर चिनिन्छ । पछिल्लो समय यहाँका नदी तथा खोलाबाट विद्युत् आयोजना निर्माण गर्ने होडबाजी नै चलेकाले यहाँका जलचर प्राणी सङ्कटमा परेको नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पुर्जाले बताए ।

नारच्याङमा १५७ मेगावाटका पाँच जलविद्युत् आयोजना निर्माणाधीन छन् । निर्माणाधीन रहेका ती जलविद्युत् आयोजनाका स्रोत भनेका यहाँ रहेका नदी तथा खोला नै हुन् । बाढी पहिरो र नदीजन्य वस्तुको अप्राकृतिक उत्खनन् पनि जलचर प्राणी नासिनुका मुख्य कारण रहेको वातावरण संरक्षणकर्मीले बताएका छन् । म्याग्दी, कालीगण्डकी र रघुगङ्गा क्षेत्रमा गएको पहिरो तथा बाढीले नदीको जलचक्र प्रणाली नै खल्बल्याई दिएकाले जलचरको बासस्थान नास हुँदा उनीहरु लोप हुने अवस्थामा पुगेका वातावरण संरक्षणकर्मी श्रीराम सिग्देलले बताए ।

उनका अनुसार नदीमा आउने बाढीले नदीलाई धमिल्याइ आहाराको अभाव गराइ दिने मात्र होइन त्यसले जलचरको अनुकूलन अवस्थालाई पनि क्षति पु¥याइ दिने भएकाले त्यस ठाउँमा रहनसक्ने अवस्था नभए पछि जलचर प्राणी तलतल तिर सर्दै जान्छन् ।

यहाँका तीन वटै जलाधार क्षेत्रमा नदीजन्य वस्तुको चोरी निकासी बढेर गएको छ । नदीमा डोजर र स्काभेटरजस्ता भारी साधन प्रयोग गरेर जथाभावी नदीजन्य वस्तु निकाल्दा त्यसको असर जलचर प्राणीमा पनि परेको र उनीहरु नासिँदै गएको वातावरण संरक्षणकर्मीको भनाइ छ । त्यसैगरी बजार तथा ग्रामीण क्षेत्रको फोहोर विर्सजन गर्ने ठाउँ नदी तथा खोला नै बन्ने गरेका छन् । नदीमा फोहोर विर्सजन गर्दा रासायनिक तत्वको प्रभावले जलचर प्राणीको अस्तित्व जोखिममा परेको वातावरणविद्हरुको भनाइ छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्