कांग्रेस महाधिवेशनमा ‘पहिलोचरणमै सभापतिमा जित्ने दाबी’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् ।

आज यहाँ मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गर्दै यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने बताए । सभापतिका अर्का उम्मेदवार बिमलेन्द्र निधिले आफूले जित्ने प्रवल सम्भावना रहेको दाबी गर्दै १३औँ महाधिवेशनमा सभापतिको लागि अरुलाई मतदान गरेपनि यस पटक सभापतिमा आफैले आफूलाई मतदान गर्न पाएकोमा उत्साह व्यक्त गरे । उनले भने , “१३औँ महाधिवेशनमा अरुलाई नै मतदान गरेर छानेको थिए, यस पटक आफैलाई छानेको छु, त्यसैले उत्साही छु ।” सभापतिका उम्मेदवार निधिले आफूले पार्टी सभापतिमा जितेको खण्डमा देश र जनताको अधिकार, लोकतन्त्र र आर्थिक सम्वृद्धिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले मतदान प्रक्रियामा क्लस्टर अनुसार मतपत्र भएकोले मतदान गर्न सजिलो भएको प्रतिक्रियासमेत दिए ।

अहिले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि भृकृटीमण्डमा मतदान जारी छ । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण ढिला सुुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फूलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।

भृकुटीमण्डमा जारी मतदानपछि पत्रकारसँग कुरा गर्दै उपसभातिका उम्मेदवार विजयकुमार गच्छदारले पार्टी सभापतिमा पहिलो चरणमै प्रधानमन्त्री शेरबहादुर देउवाले सभापति जित्ने दाबी गरे । उनले मतदान ढिलो गरी सुरु भए पनि निर्वाचन समितिले छोटो समयमा प्रभावकारी व्यवस्थापन गरेको र आज रातिसम्ममा मतदान गरेर सकिने जानकारी दिए । गृहमन्त्री तथा केन्द्रिय सदस्यका उम्मेदवार बालकृष्ण खाँडले प्रधानमन्त्री देउवाले पहिलो चरणमै पार्टी सभापतिमा जित्ने जिकिर गरे ।

उनले भने “सभापतिमा उनले जित्ने धेरै आधार छन् । पहिलो प्यानल बलियो छ र दोस्रो नेता कृष्णप्रसाद सिटौलाको समूह उहाँसँगै छ ।” उनले पार्टीलई एक ढिक्का बनाउँदै राष्ट्रिय सहमतिका साथ सबै दललाई मिलाएर आम निर्वाचनमा लैजाने क्षमता सभापति देउवासँग मात्रै भएकोसमेत बताए । निर्वाचनसम्म यही गठबन्धन रहिरहने उनको भनाइ छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्