प्रक्रियाभित्र रहेर असहमति राख्न सभामुखको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विधि र प्रक्रियाभित्र रहेर आफ्ना असहमति राख्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरे ।

सभाको १०औँ अधिवेशनको पहिलो बैठकमा नारावाजीसहित बेल घेराउ गरिरहेका सो दलका सांसद्लाई सभाको नियमावलीतर्फ ध्यानाकर्षण गराउँदै सभामुख सापकोटाले संसदीय व्यवस्था सिद्धान्त मात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सँधै नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसद्हरुको ध्यानाकर्षण गराए । जनप्रतिनिधिहरुको सर्वोच्च निकाय संसद् आफ्नो नियम र विधि पालनामा बढी सचेत हुनुपर्ने भएकाले प्रक्रियाभित्र रहेर असहमति राख्न उनले आग्रह गरे ।

सभामुखले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५को नियम ६ को उपनियम २ बमोजिम पटक पटक आग्रह गर्दै सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराए ।

तत्पश्चात् सभामुखले लोकतन्त्र र गणतन्त्र स्थापनामा शाहदत प्राप्त गर्ने शहीदप्रति एक मिनेट मौन धारण गर्न आग्रह गर्दा भने प्रमुख प्रतिपक्षका सांसद् मौन रहेका थिए । सभामुखले सभामुखको अनुपस्थितिमा सदनको कारबाही अघि बढाउन केही सांसद् मनोनयन गरे । एमालेले भने उक्त सूचीमा आफूहरुले कुनै नाम नदिएको जनाएको छ । विरोधबीच बैठकमा कार्यसूची अघि बढाइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्