विद्यालयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी । जिल्ला निर्वाचन कार्यालयले यहाँका सबै स्थानीय तहका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गर्दैछ । निकट भविष्यमै हुने सबै तहका निर्वाचनलाई लक्षित गर्दै विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलका अनुसार उक्त कार्यक्रम मङ्सिर २७ गते जिल्लाको पुर्चौडी नगरपालिकामा रहेको डिलेश्वरी माविबाट सुरु भएको र प्रत्येक स्थानीय तहको एक विद्यालय छनोट गरेर अन्य सबै पालिकामा पनि उक्त कार्यक्रम सञ्चालन हुनेछ । उनले भने , “कार्यक्रम सञ्चालन हुने विद्यालय छनोटसँगै कार्यक्रम पनि सञ्चालनको तयारीमा छौँ, त्यसअघि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको नयाँ सरकारी सामुदायिक विद्यालय छनोट गर्छौं ।”

माविस्तरका विद्यालय कार्यक्रम सञ्चालन भइरहेको तथा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई मतदाता शिक्षा दिइरहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावमा मत बदर नहोस् भन्नका लागि र विद्यार्थीमार्फत अभिभावकलाई मतदान गर्ने सही तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

एक विद्यालयका कम्तिमा १५० विद्यार्थी सहभागी गर्ने योजना रहेको छ । निर्वाचन आयोगको वार्षिक कार्यक्रमअनुसार नै मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको हो । गत वर्ष जिल्लाका आठ विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लामा हाल एक लाख ४८ हजार बढी मतदाता रहेका छन् । यसका साथै हाल पालिकास्तरबाटै फोटोसहितको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम पनि सञ्चालन गरिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्