आँधीखोलामा माछाका भुरा छाडियो

Ad
  • कालोपाटी सम्बाददाता

स्याङ्जा । आँधीखोला गाउँपालिकाले पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छाडेको छ । गाउँपालिकाले बिहीबार आँधीखोलाको विभिन्न १० ठाउँमा माछाका भुरा छोडेको हो । कालीगण्डकी माछा प्रजनन केन्द्रबाट माछाका भुरा ल्याइएको थियो ।

माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको जनाउँदै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ । करेन्ट र विषादी प्रयोगले परम्परागत र स्थानीय जातका माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए ।

उनले भने “नदी, ताल र खोलाको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ, जैविक विविधता नभएको नदी ताल तथा खोलाको कुनै महत्व हुँदैन”, यसको महत्व जोगाइराख्न माछाका भुरा छाडिएको हो ।

गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले स्थानीय जातका माछा संरक्षण गर्दै आँधीखोलाका माछालाई ब्राण्डिङ गर्नुपर्ने बताए । जलारी समुदायको जीवनयापनको आधार माछा भएको र यसका लागि उत्पादन संरक्षणमा गाउँपालिकाले विशेष चासो दिएको थियो ।

खोलामा साना भुरा छोड्दा बकुल्लोलगायतका विभिन्न चरा तथा सर्पलेसमेत खाने सम्भावना बढी रहेकाले कम्तीमा पनि १५ देखि २५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताए । हेडे २५ हजार, गर्दी २५ हजार, ठेड २५ हजार र सहर जातका २५ हजार माछा तालमा छाडिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

आँधीखोलामा खोलामा माछाका भुरा छाडिएसँगै गाउँपालिकाले अर्को सूचना नआएसम्म खोलामा जाल हान्ने, ढडिया थाप्ने, करेन्ट लगाउने, विषादी हाल्ने जस्ता तरिकाले माछा मार्नसमेत बन्द गरेको गाउँपालिकाले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्