‘पार्टी सभापति शेरबहादुर देउवाको दोस्रो इनिङ शुरु भएको छ’ : उपसभापति गुरुङ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको दोस्रो इनिङ शुरु भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले पार्टीमा सभापति देउवाको दोस्रो इनिङ शुरु भएको बताएका हुन् । उनले सभापति देउवाले दोस्रो इनिङमा सेन्चुरी हान्न नसकेपनि अर्धशतक हान्ने दाबी गरे । उपसभापति गुरुङले पार्टीलाई विधिसम्मत बनाउने ठाउँमा आफू पुगेको भन्दै अब पार्टी विधि र पद्धतिअनुसार चल्ने बताए । उनले यो अग्निपरीक्षा भएकोले यसमा खरो उत्रिनु आफ्नो कर्तव्य भएको पनि बताए ।

उपसभापति गुरुङले भने , ‘क्रिकेट कहिलेकाहीँ म पनि हेर्छु, यहाँहरुले पनि हेर्नुहोला ? क्रिकेट म्याचमा टेस्ट म्याच भन्ने हुन्छ एउटा, त्यसमा एउटै ब्याट्सम्यानले दुईपल्ट ब्याटिङ गर्नुपर्छ । पहिलो इनिङ्स, दोस्रो इनिङ्स । भलै श्रद्धेय नेता शेरबहादुर देउवाको पहिलो इनिङ्स राम्रो भएन होला । क्रिकेटमा पहिलो इनिङ्समा डकआउट हुने ब्याट्सम्यानले पनि दोस्रो इनिङ्समा सेञ्चुरी हानिरहेको हुन्छ । हो त्यस्तै गरेर हाम्रो शेरबहादुर देउवाज्यूको पहिलो इनिङ्स त्यति राम्रो हुन नसकेपनि दोस्रो इनिङ्स शुरु भयो । यसमा हामी पनि छौँ नि ब्याट्सम्यान । तर हामी आशा गरौँ, हाम्रो प्रिय, श्रद्धेय सभापति सेञ्चुरी नहाने पनि हाफ सेञ्चुरी पक्कै हान्नुहुनेछ । त्यो ठाउँमा हामी पु¥याउँछौँ । विधि बमोजिम चल्ने पार्टी बनाउँछौँ । विधान बमोजिम चल्ने पार्टी बनाउँछौँ । हामी अग्निपरीक्षामा छौँ । रुपान्तरित भनेको विधि, पद्धतिबाट चल्ने पार्टी हामी बनाउँछौँ ।’

नव–निर्वाचित उपसभापति गुरुङले महाधिवेशनमा आफूहरुले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि ६०–४० जसरी पहिलेको झैँ भाग खोज्न नजाने बताउनु भयो । उनले भागबण्डा खोज्दा पार्टीको स्तर गुमेको अनुभवबाट अब पार्टीलाई भागबण्डारहीत बनाइ पुरातन र परम्परावादी सोच नराख्ने स्पष्ट पारे । उपसभापति गुरुङले न्यायोचित व्यवस्थापन गरेर पार्टीलाई रुपान्तरित र न्यायोचित ढंगले अघि बढाउने बताए ।

उपसभापति गुरुङले भने ‘पार्टी भित्र विधि र पद्धति स्थापित गर्नेहरुले फेरि भागबण्डा खोज्न थाल्यो भने हिजो जसरी ६०–४० को भागबण्डा थियो, बिलो लगाएँदा थिलोथिलो भयो । हाम्रो प्यानलले ४० प्रतिशत लोकप्रिय मत पायो, त्यो अनुसार ४० प्रतिशत भागबण्डा पाउँ भनेर हात थाप्न थाल्यौँ भने हामी पनि पुरातन, परम्परावादी भइहाल्छौँ । रुपान्तरितवादी होइनौँ भन्ने कुरा त्यहीँबाट स्थापित हुन्छ । अब हामी सबै काँग्रेसको सभापति, उपसभापति हो । त्यसको लागि काम थाल्नुपर्छ, न्यायोचित व्यवस्थापन गर्ने हो । भागबण्डा गरेर न्यायोचित व्यवस्थापन हुँदैन । रुपान्तरित गरेर लैजाने सन्दर्भमा हामीले पार्टीभित्र न्यायोचित व्यवस्थापन गरेर अघि बढ्नुपर्छ ।’

उपसभापति गुरुङले भ्रष्टाचारका कारण जनताले सुशासन पाउन नसकेको दावी समेत गरे ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्