बागलुङ बजारमा व्यवस्थित पार्क उद्यान बनाइँदै

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । बागलुङमा वीरेन्द्र ऐश्वर्य उद्यान पार्कको नाउँमा चिनिएको समीक्षालय पार्कलाई व्यवस्थित बनाइने भएको छ । झण्डै १४ वर्षदेखि अलपत्र सो पार्क अब व्यवस्थापन गरेर नयाँ बनाउन लागिएको हो । बागलुङ नगरपालिकाले यो पार्कलाई व्यवस्थित बनाएर नगरभित्रको आर्कषक गन्तव्य बनाउन लागेको नगरप्रुमख जनकराज पौडेलले बताए ।

त्यसका लागि नगरपालिकाले डिपिआर बनाइसकेको छ । चालू वर्षभित्रै काम सक्ने लक्ष्यसमेत राखेको पौडेलले जानकारी दिनुभयो । २०६२÷६३ सालको जनआन्दोलनमा पार्कमा रहेका वीरेन्द्र र ऐश्वर्यको मूर्ति ढालेपछि यो पार्क बेथितिको रुपमा रहेको थियो । सरसफाइ नगर्ने, खुला र अव्यवस्थित बनाउदा फोहोर थियो ।

लागुऔषध प्रयोगकर्ताले फालेका सुईदेखि अन्य प्लास्टिकजन्य फोहरसमेत पार्कमा भेटिन्थ्यो । पछिल्लो समय केही फोहर कम भए पनि व्यवस्थापन थिएन । तर गतवर्ष पार्कको दक्षिण किनारामा रहेको ट्राफिक कार्यालय भत्काएपछि तत्काल पार्क व्यवस्थापन गर्ने योजना थियो ।

चालू वर्षको बजेटमा एए कन्स्ट्रक्सन प्रालिले रु ९६ लाखमा ठेक्का लिएर काम गरिरहेको हो । नगरपालिकाले व्यवस्थापनको काम गरेको छ । “पानी नजम्ने, आर्कषक र व्यवस्थित पार्क बन्नेछ”, इञ्जिनीयर मनोज शर्माले भन्नुभयो, “यो पार्कले नगरकै पहिचान झल्कने बनाउने योजना छ ।” पार्क व्यवस्थापन गरेपछि फूल रोप्ने, बस्ने स्थान र बजारकै गौरव गर्न लायक पार्क बन्ने वडा नं २ का अध्यक्ष जीवन आचार्यले बताए ।

“बाहिरबाट आएका मानिसले पनि यो पार्क हेरेर बागलुङको पहिचान बुझ्न सकुन् भन्ने लक्ष्य राखिएको छ”, आचार्यले भन्नुभयो, “यो पार्क व्यवस्थित भयो भने प्रवेश शुल्क राखेपनि चलाउन सकिन्छ ।” यसअघिको मूर्ति फालेपछि खाल्डामा जमेको पानीसमेत दुर्गन्धित थियो । बालबालिका सहजै प्रवेश गरेर खेल्दा ती खाडलमा पर्ने जोखिमसमेत थियो ।

केही समय यहाँको छाप्रोमा वडा कार्यालयसमेत सञ्चालनमा आयो । अहिले वडा कार्यालय पुरानो जिविसको भवनमा सरेको छ । त्यसपछि उक्त छाप्रोमा एउटा तालिम हल बनाइएको छ । एकातर्फ ट्राफिक प्रहरीको अस्थायी कार्यालय राखिएको छ । तर व्यवस्थित पार्कसँगै शौचालय पनि राख्नुपर्ने स्थानीयवासीले बताए ।

“पार्क राम्रो बनाउने तयारी भएको रहेछ, तर सार्वजनिक शौचालय पनि बनाउन आवस्यक छ”, बानपा २ का व्यवसायी संजय श्रेष्ठले भने , “सवारी साधनको पार्किङ समेत व्यवस्थापन गर्न सकियो भने बागलुङ बजारको मुहार फेरिन्छ ।” अहिले पनि बजार क्षेत्रमा पार्किङ अभाव छ । दुइ वर्षदेखि साताको तीन÷तीन दिन सडकको दायाँ र बायाँ सवारी पार्किङ गराउने व्यवस्थापन गरिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्