‘एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व हो’ : गृहमन्त्री खाँण

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुर । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।

मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ति सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताए । उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए ।

उनले भने – ‘एमसीसी पूर्ववर्ति सरकारहरुको पालोमै अगाडी बढेको हो । यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडी बढाएको हो । नेपाल सरकार र एमसीसी परियोजनाको बिचमा धेरै वर्ष अगाडी नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व हो ।’

गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारे । सरकारले नेपालको विद्युतिकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनले बताए ।

उनले भने – ‘एमसीसीको बारेमा केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसै अन्र्तगत नेपाल सरकारले विद्युतिकरण र विद्युतिकरणको पनि ट्रान्समिशन स्थापनाका लागि र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । र त्यसलाई उहाँहरुले स्वीकार गरेका हुन् । यो निशर्त अनुदान हो । एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होईन, अनुदानमा हो । दलहरुको बिचमा छलफल भइराख्या छ । छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडी बढ्छ ।’

उनले एमसीसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरुबीचमा छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडी बढ्ने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्