भरतपुर अस्पतालमा तीन डाइलासिस मेसिन थपियो

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । भरतपुर अस्पतालले मिर्गौलाको डाइलासिस मेसिन कम भएपछि थप गरेको छ । अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो ।

अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए । उनका अनुसार समितिले निर्णय गरेर थप तीन वटा मेसिन खरिद गरी जडान गरिसकिएको छ । पुस १ गतेदेखि नै नयाँ जडान गरिएका मेसिनबाट पनि सेवा सुरु भइसकेको उनले जानकारी दिए ।

अस्पतालमा डायलासिस उपचारका लागि आउने विपन्न बिरामीको रजिष्ट्रेशन र परीक्षण शुल्क मिनाहा गर्ने निर्णयसमेत समितिले गरेको छ । रजिस्ट्रेशन शुल्क मिनाहा पाउने बिरामीको डायलासिसको सिलसिलामा ब्लड सुगर, एस क्रिटिनाइन, सिबिसी र सोडियम पोटासिम परीक्षणसमेत निःशुल्क गर्ने निर्णय भएको अधिकारीको भनाइ छ ।

अस्पतालमा मेसिनको सङ्ख्या कम हुँदा बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले मेसिन थप गरी नियमित सेवा दिन थालेपछि बिरामीलाई केही हदसम्म भए पनि सहज भएको बताए । उनले दैनिक चार चरणमा ३५ देखि ४० बिरामीको डाइलासिस गराइरहेको जानकारी दिए । शनिबार दुई चरणमा डाइलासिस गराउँदै आएको उनको भनाइ छ ।

मिर्गौला डाइलासिस गराउनुपर्ने बिरामीले हप्तामा कम्तीमा एकपटक गराउनैपर्ने र बिरामीको अवस्था हेरी कसैकसैलाई दुईपटक गर्नुपर्ने उनको भनाइ छ । कतिपय बिरामीले निजी अस्पतालमा डाइलासिस गराइरहेका छन् । प्रा डा पौडेलले कतै पनि डाइलासिस गराउन नपाएका बिरामीलाई प्राथमिकता दिएर सेवा दिँदै आएको बताए । कतिपय बिरामीले भरतपुर अस्पतालमा नाम लेखाए पनि निजीमा डाइलासिस गराउँदै आएका छन् ।

पौडेलका अनुसार अधिकांश डाइलासिसका बिरामीले भरतपुर अस्पतालमै सेवा लिन चाहन्छन् । यहाँ आउने सबै बिरामीलाई नियमित सेवा दिनका लागि ४० वटा मेसिन आवश्यक पर्ने उनको भनाइ छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्