भोजपुर जिल्ला अस्पतालमा ‘नर्सिङ आवास भवन ’ निर्माण हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

भोजपुर । जिल्ला अस्पताल परिसरमा ‘नर्सिङ क्वाटर’ भवनको निर्माण थालिएको छ । सघनसहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटसहित रु तीन करोड ३२ लाख लागतमा ब्राइटबुल युडी विल्डर्स जेभीले क्वाटर भवन बनाउन सुरु गरेको हो ।

सम्झौताअनुसार निर्माण अवधि २०८९ सालको फागुनसम्म रहेको भए पनि गुणस्तरीय ढङ्गले निर्माण गरेर त्योभन्दा अघि नै सरकारलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीले दाबी गरेको छ । निर्माणको सम्झौता विसं२०७८ को भदौ महिनामा भएको हो । भवनलाई यही चैत महिनामा सक्ने यदि कुनै कारण बस सम्भव नभएमा २०८९ को जेठभित्रमा सम्पूर्ण काम सकेर बस्न लायक भवन बनाएर जिम्मा लगाउने कम्पनीले जनाएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि उत्तम खड्काले भने , “कामको थालनी गरेको छोटो अवधिमा करिब ५० प्रतिशत बढी भौतिक प्रगति भएको छ । कामलाई तोकिएको समयावधि आगावै सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ । म आफू पनि स्थानीय भएकाले यहाँको नर्सिङ आवासको समस्या चाँडो हटाउनु हाम्रो पनि दायित्व हो ।”

मुख्य गरेर यहाँ कार्यरत नर्सलाई लक्षित गरेर भवन निर्माणको काम थालिएको हो । भित्तामा पर्खाल लगाउने, जग बसाल्नेलगायत काम गत भदौ महिनाबाट थालिएको भए पनि मुख्य आवास भवन निर्माणको काम भने कात्तिक महिनाबाट सुरु भएको हो । भवनको पहिलो तला ढलानको काम सकिएको छ ।

दुई तलाको भन्ने भवनमा आठ परिवारलाई बस्न मिल्नेगरी आवश्यक सुविधा सम्पन संरचना निर्माण हुने अस्पतालले जनाएको छ । भवनको कामलाई गुणस्तरीय बनाउनका लागि तोकिएको मापदण्डानुसारको सामग्री मात्र प्रयोग गरिएको सघनसहरी तथा भवन निर्माण आयोजना कार्यालय धनकुटाले जनाएको छ ।

प्रयोगमा ल्याएइका सामग्री ल्याब टेस्ट गरेर इञ्जिनीयरकोे प्रत्यक्ष निगरानीमा काम भइरहेको कार्यालयको भनाइ छ । सघनशहरी तथा भवन निर्माण आयोजना कार्यालयका इञ्जिनीयर नवलकिशोर चौधरीले भने , “भवनलाई तोकिएको मापदण्डअनुसारको सामग्री मात्र प्रयोग गरिएको छ । गुणस्तरलाई ध्यानमा राख्दै यहाँ प्रयोगमा आउने, बालुवा, गिटी, सिमेन्ट लगाएको ल्याब गरेका छौँ । निर्माणका क्रममा हामीले प्रत्यक्ष निग्रानी गरिरहेका छौँ । यो भवन गुणस्तरीय ढङ्गले समयमा सम्पन्न हुनेमा कार्यालयकोतर्फबाट पनि काम भइरहेको छ ।”

पहाडी जिल्ला एवं आवश्यक सुविधा कम हुँदा स्वास्थ्यकर्मी तथा डाक्टर कमैले मात्र यहाँ बस्न रुचाउने गरेका छन् । जसका कारण यहाँको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको अवस्थासमेत छ । केही समय यहाँ बस्ने त्यसपछि सहरका सुविधायुक्त ठाउँमा सरुवा हुने चलन रहँदै आएको छ । आवाससँगै अन्य सुविधामा सुधार गर्ने काम भएकाले अब त्यो समस्या कम हुनेमा स्थानीय आशावादी बनेका छन् ।

आवास भवन नहुँदा जिल्ला अस्पतालका नर्सलाई बस्नका लागि समस्या हुँदै आएको थियो । क्वाटर निर्माण सम्पन्न भएपछि वर्षौंदेखि बासको समस्या झेल्दै आएका यहाँका नर्सको सहजता हुने अस्पतालले जनाएको छ । डाक्टरका लागि भने आवास भवन निर्माण भइसकेको छ । पहिला कच्ची भवनबाट सेवा दिँदै आएको अस्पतालको अहिले पक्की भवन बनेको छ ।

यहाँ ६६ स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य सेवाकेन्द्र, तीन प्राथमिक स्वास्थ्य केन्द्र, तीन सहरी स्वास्थ्य केन्द्र, सात सामुदायिक स्वास्थ्य इकाइ र एक जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्