व्यावसायिक गाईपालनबाट मनग्य आम्दानी

Ad
  • कालोपाटी सम्बाददाता

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक लाहाटाका ३५ वर्षीया लुल्सिराम कुँवर सात वर्ष विदेश बसे । उनले काजकिस्तान दुवैलगायतका देशमा खाना बनाउने काम गरे । विदेशमा आम्दानी पनि राम्रै हुन्थ्यो तर चार वर्ष पहिले गाउँ आएका उनको मन फेरियो । यसपछि उनले घर नजिकै जग्गा किनेर व्यावसायिक गाईपालन सुरु गरे ।

धनञ्जय कृषि तथा पशुपक्षी फार्ममार्फत चार वर्षअघि चार गाईबाट व्यवसाय सुरु गरेका उनका गोठमा अहिले १३ गाई छन् । ती मध्ये १० ठूला र तीन वटा साना छन् । त्योमध्ये पनि चार दुहुनु र तीन ब्याउने गाई छन् । उनले दुई जर्सी र ११ होलिस्टिन क्रस गाई पालेका छन् । गाईपालनका लागि उन्नत जातका घाँससमेत उनले लगाएका छन् ।

एउटा गाईले औषतमा दैनिक १५ लिटरभन्दा बढी दूध दिने उन बताए । सबै गाईको दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन गर्ने उनले दैनिक ३० लिटरजति स्थानीय बजारमा खपत गर्ने र बाँकी ३० लिटर तम्घास पठाउँछन् । स्थानीय बजारमा प्रतिलिटर रु ७० मा बिक्री हुने दूध तम्घास पठाउँदा प्रतिलिटर ५४ रुपैयाँ पर्छ । “मासिक डेढदेखि दुई लाखसम्मको कारोबार हुन्छ, यसमा खर्च कटाउँदा पनि ४० हजार बचत हुन्छ”, उनले भने , “विदेशमा भन्दा कम बचत भए पनि सन्तुष्टि बढी छ ।” विदेशमा कमाएको रकम स्वदेशमा लगानी गरेका उनले  व्यवसायमा सन्तुष्टि मिलेको बताए ।

व्यावसायिक गाईपालन गरेबापत गाउँपालिकाले प्रदान गर्ने उत्पादनमा आधारित अनुदान प्रतिलिटर रु तीनका दरले प्राप्त गर्छन् । त्यस्तै ०७५÷७६ मा कृषि, पशुपक्षी तथा मक्ष विकास निर्देशनालयबाट रु चार लाख प्राप्त गरे । सोही ठाउँकै ४० वर्षीया कमल पोखरेलले पनि १८ वर्ष रोजगारीकै लागि विदेशमा कटाए । १८ वर्षको हुँदा भारत जानुभएका उन दुवै पनि पुगे । त्यहाँ उनले खाना बनाउने र सफा गर्ने काम गरे । विदेशमा मासिक रु ८० कमाउने पोखरेलको रु ६० हजार बचत हुन्थ्यो । दुई वर्षअघि गाउँ आएका पोखरेलले गाउँमै भविष्य खोज्नुभयो र गाईपालन व्यवसाय सुरु गरे । करिब पाँच लाखको लागतमा १८ वटा गाई अट्ने संरचना बनाए ।

यसपछि वसन्त पशु फार्म खोलेर छ ठूला गाई किनेर व्यवसाय सुरु गर्नुभएका व्यवसायी पोखरेलसँग अहिले सात ठूला गाई एवं तीन साना बाच्छा छन् । ती मध्ये पनि दुई दुहुने र पाँच ब्याउने छन् । अहिले दैनिक २० लिटर दूध उत्पादन भएको र सबै व्याउँदा ८० लिटरसम्म दुध उत्पादन हुने उनको भनाइ छ । अहिलेसम्म दैनिक ५५ लिटरसम्म दूध बिक्री गरेको र भविष्यमा दैनिक १०० लिटरसम्म दूध बिक्री गर्नेगरी योजना बनाएको उनले सुनाए ।

गाईपालनबाट वार्षिक रु २४ लाखको कारोबार हुने कमलको भनाइ छ । “सबै जग्गा आफ्नै भएकाले व्यवसायमा सहजता मिल्यो”, उनले भने , “विदेशको भिसा त्यागेर गाईपालनमा लागेको हुँ, सोचेभन्दा बढी सन्तुष्टि मिलेको छ ।”

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्