भत्काइए वाग्मती किनारका अनधिकृत संरचना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वाग्मती किनारको दायाँबायाँ स्वीकृति नलिइ अनधिकृतरुपमा बनाइएका संरचना अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले भत्काउन सुरु गरेको छ ।

समितिसँग स्वीकृति नलिइ बनेका संरचनाका कारण वाग्मती नदीको सौन्दर्यकरणमा समस्या भएपछि भत्काउन सुरु गरिएको सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । मङ्गलबार स्वीकृति नलिइ बनेका १८ वटा संरचना भत्काइएको उनले सुनाए । अनधिकृत संरचना भत्काउने अभियान आज पनि जारी रहने छ । पहिलो चरणमा गुह्येश्वरीमाथिका संरचना भत्काइएको छ ।

गुह्येश्वरीबाट गोकर्ण बाँधसम्म नदीको दायाँबायाँ स्वीकृति नलिइ बनेका ३९ संरचना निर्माण भएका छन् । अवैधरुपमा बनेका संरचनाको अध्ययन गर्न समितिले वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीको संयोजकत्वमा समिति नै गठन गरेर अध्ययन गरेको थियो । समितिमा इञ्जिनीयर मिहीरचन्द्र आचार्य, समाजशास्त्री पुरुषोत्तम कँडेल, सामाजिक विकास अधिकृत निरञ्जन पुडासैनी र वाग्मती सफाइ अभियानकर्मी गोविन्द काफ्ले सदस्य रहेका थिए ।

अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा अधिकार सम्पन्न वाग्मती समितिले संरचना भत्काएको हो । नदी किनारमा मन्दिर, किरियापुत्री भवन, प्रतीक्षालय, प्रहरी बिटलगायत संरचना निर्माण गरिएको छ । मन्दिर भने नभत्काइने समितिले जनाएको छ ।

जम्बोडाँडा र माकालबारी सानोपुलमा पनि प्रहरी बिट छ । प्रहरी बिट पनि नभत्काइने जनाइएको छ । स्वीकृति नलिइ बनेका किरियापुत्री भवन भने भत्काउने तयारी गरिएको छ । नदी किनारमा आवश्यक संरचना भने सौन्दर्यकरणकै क्रममा बनाइने छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका संरचना भने यथावत् राखिने छ ।

गुह्येश्वरीमाथिको नदी किनारमा भेटिएका तीन किरियापुत्री भवनमध्ये एउटाले मात्र स्वीकृति लिएको छ । ग्रिनहिलसिटी, नारायणटार पुल र माकालबारीमा ती किरियापुत्री भवन छन् । यीमध्ये माकालबारीको किरियापुत्री भवनले मात्र स्वीकृति लिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्