तनहुँमा सुन्तला उत्पादनमा वृद्धि, वार्षिक रु २० लाखसम्म उत्पादन

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँमा यस वर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष ढिला गरी सुन्तला पाकेको र वर्षा राम्रो भएका कारण सुन्तला उत्पादनमा वृद्धि भएको बताउनुभयो । “जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमन र कृषकको भनाइअनुसार यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ”, उनले भने , “जिल्लाका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।”

गत वर्ष जिल्लामा आठ हजार मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । उत्पादितमध्ये धेरै सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । यस वर्ष जिल्लाबाट रु २४ करोड बराबरको सुन्तला बिक्री वितरण हुने अनुमान छ ।

सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् । तनहुँमा एक हजार ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमति लगायतका ठाउँमा व्यावसायिकरुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।

म्याग्दे गाउँपालिका–२ उमाचोकका सुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी, रामबहादुर अधिकारी लगायतले वार्षिक लाखौँ मूल्य बराबरका सुन्तला बिक्री गर्दै आएका छन् । बन्दीपुर गाउँपालिकाले सुन्तला उत्पादन वृद्धिका लागि पकेट क्षेत्रसमेत घोषणा गरेको छ । यसले कृषकलाई उत्साहित बनाएको छ । बन्दीपुर गाउँपालिका–६ काफलस्वाँरामा व्यावसायिकरुपमा सुन्तलाखेतीका लागि पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

कार्यक्रमका लागि गाउँपालिकाले रु पाँच लाख ५० हजार अनुदान दिनेछ । रु दुई लाख ७२ हजार ५०० कृषकले लागत सहभागिता बेहोर्नुपर्ने हुन्छ । दुई सय ५० रोपनी क्षेत्रफलमा सञ्चालन हुने कार्यक्रममार्फत यस गाउँमा सुन्तला उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । काफलस्वाँरा गाउँपालिकाको राम्रो सुन्तला उत्पादन हुने क्षेत्र हो । यहाँका ३२ घरधुरीले सुन्तलाखेती गर्दै आएका छन् । यहाँबाट वार्षिक करिब रु २० लाखसम्म सुन्तला उत्पादन हुने गरेको छ । सुन्तलाको पकेट क्षेत्रको रुपमा घोषणा गरिएपछि यहाँ वार्षिक रुपमा सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्