एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट चार अध्यादेश स्विकृत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को बिरोधकाबीच बुधबार पनि प्रतिनिधिसभाले बिभिन्न अध्यादेश पारित गरेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरुभएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेका थिए । एमालेको बिराधपछि सभामुख अग्निप्रसाद सापकोटाले जनताको आवाज मुखरित हुने संसदमा जनताका प्रतिनिधिको आवाज थुन्ने अवस्था आएको भन्दै यसले जनतामा निराशा उत्पन्न हुने बताए । उनले आफ्ना कुरा सुन्ने र अरुका कुरा पनि सुन्ने प्रक्रियामा सहयोग गर्न एमालेका सांसदलाई पटकपटक आग्रह गरे ।

उनले संसदीय व्यवस्था सिद्धान्तमात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सधैँ नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसदलाई पुनःध्यानाकर्षण गराए । सभामुख सापकोटाले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम २ बमोजिम पटकपटक आग्रह गर्दै सर्वाेच्च अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराए ।

तर एमालेका सांसदहरुले विरोध कायमै राखेपछि सभामुख सापकोटाले कार्यसूचीलाई अघि बढाए । बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ सम्बन्धी अध्यादेश , सामाजिक सुरक्षा अध्यादेश र रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक पौष १८ गते आइतबार बोलाइएको छ । गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्