अज्ञात रोगले सुन्तलाका बोट मर्न थाले

Ad
  • कालोपाटी सम्बाददाता

पर्वत । अज्ञात रोगका कारण विगत तीन वर्षदेखि धमाधम सुन्तलाका बोट मर्न थालेपछि यहाँको एक गाउँका कृषक समस्यामा परेका छन् ।

फूल फुल्ने र फल पाक्ने बेला रोगको सङ्क्रमण फैलिँदा मोदी गाउँपालिका–२ देउपुरका कृषक पछिल्लो तीन वर्षयता समस्यामा परेका छन् । पाकेको फल धमाधम झरेकाले अहिले बोटमा फलेकामध्ये २० प्रतिशत मात्रै सुन्तला बिक्री गर्न सकिएको किसान बताउँछन् । सुरुमा केही बोटमा देखिएको यो समस्या यस वर्ष भने गाउँभरि फैलिएको छ । स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक सहकारीका अध्यक्ष दाताराम चापागाईंका अनुसार दुई वर्षअघि तल्लो दोबाटो गाउँमा देखिएको बोट मर्ने र फल झर्ने समस्या विस्तारै फैलँदै गएको हो ।

उनका अनुसार सुन्तलामा दुई प्रकारको रोग देखिएको छ । ‘टाइफुलेट’ जातको भाले किराले सुन्तलाको फूल र बचिला झार्ने तथा पाक्ने बेलामा पनि ‘ग्रिन सिटासिल्ला’ नामको भाइरसका कारण फल झर्ने समस्या देखिएको छ । फूल लाग्ने समयमा देखिएको समस्या समाधानमा किसानले हदैसम्मको प्रयास गरे पनि सम्भव हुन सकेको छैन । कृषि प्राविधिकका अनुसार ‘फेरामेन ट्रयाप’ मा ‘मिथाइल युजिल’ मिलाएर राख्दा टाइफुलेट मथ्र्यो ।

“वर्षौंदेखि आर्थिक उपार्जनको मुख्य स्रोतको रुपमा रहेको सुन्तलाखेतीबाट आम्दानी घटेपछि किसान चिन्तित बनेका छन्, पहेँलपुर हुने यो सिजनमा रित्ता बोट छन्”, स्थानीय बाबुराम बाबुराम तिमिल्सिनाले भने , “झरेर अलिअलि बचेकुचेका दाना पनि बाँदर आएर सखाप पारिदियो ।”

स्थानीय अगुवा किसान भूमिराज शर्माका अनुसार कुनै बेला देउपुरमा मात्रै रु तीन करोड बराबरको सुन्तला उत्पादन हुन्थ्यो । “अहिले गाउँभरि रु ५० लाखको पनि सुन्तला छैन”, उनले भने , “यो गाउँमा मात्रै ७०० मध्ये झण्डै ४०० परिवारले व्यावसायिक सुन्तलाको खेती गर्दै आएका छन् ।” सुरुसुरुमा सुन्तला बजारसम्म पु¥याउन समस्या थियो ।

व्यावसायिक सुन्तला खेतीमा लाग्नेको सङ्ख्या पनि बढ्दै गए पनि किसानले आफूखुसी बिरुवा ल्याएर रोप्न थालेपछि समस्या आएको बताइएको छ । खेती विस्तार गर्ने र छिटो आम्दानी लिने लोभमा कृषि प्राविधिकले सिफारिस नगरेका र प्रमाणित नभएका जात र स्थानबाट बिरुवा ल्याउँदा यी रोगसमेत भित्रिएको कतिपय किसानको बुझाइ छ ।

अब गाउँभरिका पुराना सबै बोट हटाएर नयाँ र रोग सहन सक्ने जातका बोट नलगाए देउपुरलाई सुन्तलाको नामले चिनाउन नसकिने अगुवा किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र प्रमुख मनिता थापाले सुन्तलामा देखिएको यस्तो समस्या एकैपटक समाधान हुन नसक्ने बताए । सुन्तलाको बीउ, बिरुवा उत्पादनदेखि फल लाग्ने बेलासम्मको मौसम, जलवायु परिवर्तनलगायत कारण यस्तो समस्या देखिएको हुनसक्ने उनको भनाइ छ । उनले यो समस्याबारे निरन्तर अध्यनन भइरहेको बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्