प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको छ : गृहमन्त्री

Ad
  • कालोपाटी सम्बाददाता

गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको बताएका छन्  । उनले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएर मानिसको जीवन लम्ब्याउने सन्दर्भमा बिरामीलाई पुर्नजीवन दिनेक्रममा आश्चर्यजनक उपलब्धि हासिल भए पनि गरिबीको सङ्ख्या भने बढ्दै गएको बताए ।

बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अस्पतालको नवौँ स्थापना दिवसको आज उद्घाटन कार्यक्रममा उनले नागरिकले जीवन लम्ब्याउन उपचार गर्दा भएको सम्पत्ति सबै बिक्री गरेर भए पनि निजी अस्पतालमा उपचार गर्न बाध्य हुनुपरेको बताए ।

उनले स्वास्थ्य क्षेत्रको विकासमा यो आशालाग्दो र त्यही आशाभित्र कहाली लाग्दो अवस्था रहेको जनाउँदै यसका लागि निजी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी बन्न जरुरी रहेको उल्लेख गरे । उनले नेपालको राज्य प्रणाली पनि हरेक क्षेत्रको निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने पक्षमा रहेको स्पष्ट पारे । उनले विसं २०४६ को बहुदलीय व्यवस्था स्थापनासँगै जुनसुकै पार्टीको सरकार भए पनि मुलुकमा उदारवादी अर्थनीति अवलम्बन भएको र यो उदारवादी अर्थनीतिको विकल्प दिन नसकिएको बताए ।

गृहमन्त्री खाँणले जनताले चाहेको जस्तो मुलुकको आधुनिकीकरणका लागि बहुआयामिक दायित्व पूरा गर्न सरकारले मात्र नसक्ने भएकाले जनतासँग रहेको साधन, स्रोत, सम्पत्ति, ज्ञान समाज र मुलुकको विकासका लागि प्रयोग गर्न जरुरी रहेको सुनाए । उनले भने , “यो विश्वको नयाँ ट्रेन र बाध्यता पनि हो ।”

उहाँले सरकारले निजी क्षेत्रको प्रवद्र्धनसँगै गैर मुनाफायुक्त संस्थालाई पनि सरकारले स्थापित गर्न, हुर्काउन र बचाउन आवश्यक रहेको बताए । उनले बुटबल आफ्नै ईतिहास र बलबुताले अहिलेको अवस्थामा स्थापित भएको भन्दै प्रदेश राजधानी नरहे पनि बुटवलको विकासमा कुनै फरक नपर्ने र सबैको साझा प्रयत्नबाट अब्बल बनाउन सकिएको बताए ।

गृहमन्त्री खाँणले गौतमबुद्ध सामूदायिक अस्पतालका लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद् रहेको उल्लेख गर्दै आफूले सरकारकातर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले विकासको गतिलाई कसरी अगाडि बढाउने भन्ने विषय सबै जनप्रतिनिधिको मूल दायित्व रहेको बताए । अर्का प्रदेशसभा सदस्य विष्णु पन्थीले कतिपय सरकारी नियम र कार्यविधि नै विकासका बाधक बन्ने गरेकाले सरकारले त्यस्ता नीतिनियम र कार्यविधि परिमार्जन गर्न आवश्यक रहेको बताए ।

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई वर्षभित्र ८०० श्ययाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न आफूहरु तयार रहेकाले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्रीसामु आग्रह गरे ।

रुपन्देही उद्योग सङ्घको संरक्षकत्वमा २०७० साल पुस १० गतेदेखि सेवा सञ्चालन गरेको सो अस्पतालले एक वर्षको अवधिमा ओपिडी, इमर्जेन्सी र भर्ना गरी ४८ हजार ७२२ जना बिरामीलाई उपचार सेवा उपलब्ध गराएको छ ।

अध्यक्ष आलमले रकमको अभावमा अस्पताल आएका बिरामी उपचार सेवा लिनबाट वञ्चित हुने अवस्था आउन नदिने जनाउँदै एक वर्षको अवधिमा अस्पतालका तर्फबाट रु साढे ६७ लाख र विभिन्न दाताको सहयोगमा रु १० लाखभन्दा बढी छुट उपलब्ध गराइएको जानकारी दिए ।

अस्पतालले हाल बुटवलबाट २४५, दाङको लमहीबाट ६८ र पाल्पाबाट ३१ गरी ३४४ जना मिर्गौलाका बिरामीलाई नियमित डायलायसिस सेवा दिँदै आएको जनाएको छ । त्यसैगरी एक वर्षको अवधिमा एञ्जियोप्लास्टी १११, एञ्जियोग्राफी ३१३ र ९१ जनाले पेसमेकर सेवा लिएको अस्पतालका निर्देशक डा समीर गौतमले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्