प्रधानन्यायाधीश जबराको सम्पत्ति छानवीन गर्न माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएका छन् ।

आईतबार ललितपुरको पुल्चोकस्थित विभागको कार्यालय पुगेर महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई वृहत नागरिक आन्दोलनका अगुवा प्रा.डा. गोविन्द केसीसहितको टिमले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले प्रधानन्यायाधीश जबराले भाई, धर्मपत्नी, परिवारका अन्य सदस्य एवं नातेदार, उनका निकट न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, व्यापारी एवं पेशेवरहरुको सहयोगमा भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् । प्रधानन्यायाधीश जबराले विशेष अदालतको न्यायाधीश हुँदा अवैधरुपमा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको र सो रकम पत्नी रेजी राणाको नाममा २०६५ सालमा ठमेलस्थित कि.नं १०९ र ११० को जग्गा किनेको आरोपसमेत लगाइएको छ ।

ज्ञापनपत्र बुझाउँदै नागरिक आन्दोलनका अगुवासमेत रहनुभएका डा. केसीले शक्तिको आडमा जिम्मेवार पदाधिकारीको संरक्षणमा भ्रष्टाचारजन्य कार्यबाट अकूत सम्पत्ति आर्जन गरी अस्वभाविक जीवनशैली देखाएका प्रधानन्यायाधीशको सम्पत्ती अपरादर्शी देखिएकोले छानबिनको माग गरेको बताए । उनले प्रधानन्यायाधीश जबराले भ्रष्टाचार गरेको कुरा आम सञ्चारमाध्यमहरुमा आइरहेकोले नागरिक समाज चुप लागेर बस्न नसक्ने बताए ।

ज्ञापनपत्र बुझाएपछि अधिवक्ता ओमप्रकाश अर्यालले विभागले यसको निचोड दिनुपर्ने बताए । उनले प्रधानन्यायाधीश जबरामाथि लगाइएका आरोपहरु तथ्यपरक ढंगले र प्रचुर प्रमाणहरुसहित आइरहेकोले छानबिनको विकल्प नरहेको बताए ।

प्रधानन्यायाधीश जबराको सम्पत्ति शुद्धिकरणको माग गर्दै कानून व्यवासायी तथा नागरिक आन्दोलनका अगुवाहरुले विभागलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र लिँदै विभागका महानिर्देशक भट्टराईले प्रधानन्यायाधीशबिरुद्धको सम्पत्ति शुद्धिकरणको प्रक्रिया अघि बढ्ने बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्