ग्रामीण क्षेत्रका महिला कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । यहाँका ग्रामीण क्षेत्रका महिला पछिल्ला वर्षमा आत्मनिर्भर बन्न थालेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला कृषि तथा पशुपालनका क्षेत्रमा लागेपछि आत्मनिर्भर हुन थालेका हुन् । परिश्रमी महिला स्वदेशमा नै कर्म गरी प्रशस्त आम्दानी गरिरहेका छन् ।

सामान्य लेखपढ गरेका महिलाले स्थानीय स्रोत, साधनको परिचालन गरी प्रशस्त आन्दानी गर्दै नमूना देखाएका छन् । ग्रामीण क्षेत्रमा रोजगारीको अभावमा शहर पस्नेको लर्को देखिए पनि यहाँका ग्रामीण क्षेत्रका महिलाको व्यवसाय लोभ लाग्दो छ । तानसेन नगरपालिका–१० जमुनाखर्ककी सीतादेवी आलेका श्रीमान् रोजगारीका लागि विदेश जानुएका छन् । आलेका छोराछोरी अध्ययनका लागि शहरमा बसोबास गर्छन् । सीतादेवीले मात्र घर बसी व्यावसायिक तरकारी उत्पादनसँगै सामाजिक काममा अग्रसरता देखाएका छन् ।

दिनरातको प्रयासले उनको व्यावसायिक तरकारी उत्पादन प्रणाली उत्साहजन छ । यो मौसममा सिमी, बोडी, साग, केराउ, धनियाँ, काउलीलगायतका तरकारी निकासीमा उहाँ व्यस्त हुनुहुन्छ । वार्षिक रु दुई लाख तरकारी खेतीबाट आम्दानी हुने उनले जानकारी दिए ।

सोही स्थानकी मनु सिञ्जालीले छोराछोरीलाई लालनपालन र शिक्षादिक्षाका लागि चाहिने खर्च जुटाउन व्यावसायिक तरकारी खेतीबाट सक्षम भएको बताए । पहिला जस्तै गरी सानातिना कामका लागि पनि श्रीमान्सँग पैसा माग्नुपर्ने बाध्यता पछिल्ला वर्ष हटेको उनी बताउँछन् । “आफैँले व्यावसायिक तरकारीखेती गर्न थालेसँगै दुई-चार रुपैयाँ श्रीमान्लाई मागेका बेला उपलब्ध गराउन पाउँदा खुसी छु”, उनी भन्दछन् , “घरमा बसीबसी खेतबारीमा मेहनत गरी दुईचार लाख आम्दानी गर्न सक्षम भएकामा सन्तुष्ट छु ।”

तानसेन–५ अर्चलेकी मीना सोमैले खेतबारीमा अन्नबाली रोपेर वन्यजन्तुबाट जोगाउन मुश्किल भयो । मेहनतअनुरुप प्रतिफल प्राप्ति हुन नसकेपछि व्यावसायिकरुपमा घाँसखेती गर्न उहाँले बाध्य हुनप¥यो । झण्डै आठ रोपनीमा सुपर नेपिर र मुलाटो घाँस खेतीबाट पहिलो वर्ष नै रु ५० हजार आम्दानी गर्न पाउँदा उहाँ दङ्ग छन् ।

खेतबारीका कान्लामा रोपिएको घाँस खेतीबाट आम्दानीसँगै हरियालीले लोभ्याएको छ । सोमैले अगामी वर्ष सुपर नेपिर र मुलाटो घाँसखेती अझै बढी लगाउने र रु दुई÷तीन लाख आम्दानी गर्ने योजना रहेको उनले सुनाए ।

तानसेन नगरपालिका र युयनडिपी, ग्रामीण आर्थिक विकास सङ्घ सहयोगमा विदेशबाट फर्केका तथा स्वदेशमा बेरोजगार युवालाई उद्यमी बनाउन थालिएको हो । त्यसका लागि कृषि औजार, सीप तथा पुँजी सहयोग गरी नगरपालिकाभित्रका युवालाई स्वदेशमा टिकाउने योजनाअनुसार काम भइरहेको ग्रामीण आर्थिक विकास सङ्घका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए ।

नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले महिलाको आर्थिक सशक्तीकरणका लागि बाख्रापालन, कुखुरापालन तथा आयआर्जनसम्बन्धी तालिम सञ्चालन गरिएको बताए । आर्थिकरुपमा सबल भएमात्र सामाजिक, राजनीतिक तहमा महिला नेतृत्व पु¥याउन सकिने भएकाले आर्थिकरुपमा कमजोर समुदायका महिलालाई आयआर्जनतर्फ केन्द्रीय कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्