‘विपद् व्यवस्थापनमा सरकार सचेत’ –मन्त्री कार्की

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापनका लागि सरकार सचेत रहेको बताउनुभएको छ । उक्त मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग पूर्वअभ्याससहितको अन्तक्र्रिया’ कार्यक्रम शुभारम्भ गर्दै उनले प्रदेशमा विपद् हुने क्षेत्रलाई नक्साङ्कन गरेर योजनासहित अघि बढ्ने जानकारी दिए ।

मन्त्री कार्कीले विपद् पछि राहत, उद्धार र पुनःस्थापनाका लागि अग्रभागमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई जति प्रशंसा गरे पनि कम हुने भन्दै विपद्पछि राहत वितरणमा तछाडमछाड गर्ने टोलीलाई पनि एकद्वार प्रणालीमा ल्याउनु आवश्यक छ भने । उनले विपद्मा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई उच्चमनोबलका साथ काम गर्न आग्रह गर्दै यो काममा समुदायका मानिसलाई पनि परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विपद्मा उद्धार र राहतमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सिकाइ एवं अनुभव एक अर्कामा आदानप्रादन गर्ने उद्देश्यले आयोजित यो कार्यक्रममा प्राप्त ज्ञानले विपद् व्यवस्थापनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपद् व्यवस्थापनमा मन्त्रालयले कार्ययोजना बनाएर प्रत्येक नगरपालिकाका रक्षकलाई पनि तालिम दिने योजना रहेकाले विपद् व्यवस्थापनमा एकीकृत ढङ्गले अघि बढ्नुको विकल्प नरहेको बताए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृत एवं जवानलाई सशस्त्र प्रहरीका नायब उपरीक्षक वीरेन्द्र खनालले दुई दिनसम्म विपत्सम्बन्धी तालिम दिनुहुने भएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्