प्रचारको अभावमा ओझेलमा पर्यो ‘सिद्धबाबा शिला’

Ad
  • कालोपाटी सम्बाददाता

स्याङ्जा । वालिङ स्याङ्जाको वालिङ नगरपालिका–२ सिरुबारेस्थित ऐतिहासिक ‘सिद्धबाबा शिला’ संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

सिरुबारे गाउँभन्दा सिधामाथि भिरालो र कडा चट्टानमा अडकिएको सो एतिहासिक शिलामा दैवीशक्ति भएको भनिएपनि प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा पर्दै गएको स्थानीयवासी ज्येष्ठ नागरिक हुमबहादुर रानामगरले जानकारी र्दिए । “शिलामा दैविशक्ति रहेको विश्वासका आधारमा आफ्ना पूर्खाले पहिलेदेखि नै पूजाआजा गर्दै आउथे ”, उनले भने , “बाउबाजेले परम्परादेखि मान्दै आएका आस्था र विश्वासको धरोहर शिलालाई पूजाआजा गर्दै आइरहेका छौं ।”

स–साना बुट्यानलाई समाउँदै उक्त शिला भएको ठाउँसम्म पुग्नुपर्ने अवस्था रहेको थियो । तर पछिल्लो समय स्थानीयवासीबाट सङ्कलन भएको आर्थिक सहयोग तथा जनश्रमदान र वडा कार्यालयको सहयोगमा शिलासम्म पुग्नका लागि पैदल मागं सिँढी निर्माण गरिएको रानामगरको भनाइ छ । त्यस्तै यहाँका अर्का ज्येष्ठ नागरिक जुठीसरा रानाले पनि आफूले जान्दादेखि नै यहाँ पूजाआजा हुँदै आएको बताउनुभयो । “यहाँ आएर पूजाआजा गर्दा मनले चिताएका कुरा पूरा हुने जनविश्वास छ । “सोही विश्वासका आधारमा प्रत्येक वर्ष यहाँ भाकल गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ”, उनले भने , “यहाँ प्रत्येक वैशाख पूर्णिमाका दिन भव्य मेला तथा विशेष पूजा हुँदै आएको छ ।” मनोकामना पूरा हुने यो ठाउँ प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले यहाँ अन्यत्रबाट श्रद्धालु भक्तजन आउन नसकिएको गुनासो उनको छ ।

एतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको यो स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख आकर्षक केन्द्रको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष पोतप्रसाद लम्सालको भनाइ छ । यसका लागि वडा कार्यालयले चालू आर्थिक वर्षमा शीलासम्म पुग्नका लागि पक्की सिँढी निर्माण गर्न रु एक लाख ६५ हजार बजेट विनियोजन गरिएको उनले जानकारी दिए । स्थानीय आमा समूह तथा विभिन्न सङ्घसंस्था, व्यक्ति एवं स्थानीयवासीको जनश्रमदानमा रु एघार लाख ३६ हजार ८३६ को लागतमा सिँढी तथा प्रवेशद्वार निर्माण गरिएको उनको भनाइ छ ।

ओझेलमा परेको धार्मिक सम्पदाको खोजी गर्ने र त्यस्ता सम्पदाको प्रचारप्रचार गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास गर्दै लगिने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । “धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको स्थलकोरुपमा यस ठाउँलाई लिएको छु”, उनले भने , “त्यस ठाउँको भौगोलिक अवस्था, शिलाको बनावटको अवलोकन गरेको छु, अब त्यहाँका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि इञ्जिनीयरको सहयोगमा कहाँ–कहाँ केके पूर्वाधार निर्माण गर्न सकिन्छ भनेर अध्ययन गरी काम अगाडि बढाइने छ ।”

उक्त ठाउँमा आवश्यकपर्ने भौतिक पूर्वाधार, तारजाली, छेकबार र त्यहाँसम्म पुग्नका लागि सहजरुपमा पहुँच मार्गको विस्तार गर्दै लगिने प्रमुख खाँणले बताए । प्रचारप्रसारको अभावमा ओझेलमा परेको उक्त स्थानको धार्मिक एवं पर्यटकीय महत्वकाबारेमा सर्वसाधारणलाई जानकारी दिई आन्तरिक र बाह्य पर्यटक भित्रियाउने र भक्तजनको रोजाइँको प्रमुख स्थलको रुपमा विकास गर्ने गरी योजना बनाइने उनले जानकारी दिए ।

पौराणिक महत्व बोकेका सम्पदाहरुको संरक्षण गर्न नसक्दा ओझेलमा पर्दै गएको स्थानीयवासी बताउँछन् । ग्रामीण क्षेत्रका मठमन्दिरमा काठका झ्याल, ढोका, पर्खालमा प्राचीन कलात्मकताको झल्को पाइन्छ । तर, पर्यटकीय गन्तव्यका रुपमा रहेका त्यस्ता सम्पदाको संरक्षण हुन नसक्दा स्थानीयवासी भने चिन्तित बनेका छन् । शिला क्षेत्रमा पुग्नका लागि पहुँच मार्गको विस्तार भएको भएपनि त्यसलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।

यस क्षेत्रमा यातायात, विद्युत्, सञ्चार, होटललगायतका पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ । यहाँस्थित शिलालगायत विभिन्न ऐतिहासिक तथा महत्वपूर्ण सम्पदाको संरक्षण र प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दुको रुपमा विकास गर्न सक्यौं भने यसले यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास गर्न सकिन्छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्