जुम्लामा हिमपातले चिसो बढ्यो, जनजीवन कष्टकर

Ad
  • कालोपाटी सम्बाददाता

जुम्ला । जुम्लाको माथिल्लो भेगमा बुधबार बिहानदेखि हिमपात भएको छ । मङ्गलबारदेखि मौसममा फेरबदल आएसँगै जिल्लामा हिमपात भएकोे जनाइएको छ । हिमपात हुँदा अत्यधिक बढेको जाडोले यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको तिला गाउँपालिका–१ का स्थानीयवासी मञ्जु बुढाले जानकारी दिए । उनले भने “ गत वर्षभन्दा यो वर्ष धेरै चिसो बढेको छ । हिउँ परेपछि अझै जाडो बढ्दै गएको छ । बालबालिका र वृद्धालाई निकै सास्ती भएको छ ।”

जिल्लाको पातारासी र गुठीचौर गाउँपालिमकामा बाक्लो हिमपात परेको जनाइएको छ । अहिले खलङ्गामा हिउँ परिरहेको छ । गत मङ्सिर महिना सुरु भएदेखि नै यहाँको तापक्रम माइनसमा गएपछि सदरमुकाम खलङ्गामा हिमपातले चिसो अत्यधिक बढेको छ । हिमपातले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिउँ परेपछि जिल्लाबाट नेपालगञ्जसम्मको उडान गर्दै आएका हवाईसेवा समेत ठप्प भएका छन् । कर्णाली राजमार्गमा चल्ने लामो तथा छोटो दूरीमा सवारीसाधन फाट्टफुट्ट मात्र चलेको तिला कर्णाली यातायात समितिले जनाएको छ ।

हिमपातले हिउँदे बालीलाई पानीको मात्रामा मद्दत गर्ने भएपछि यहाँका किसानलाई भने राहत भएको छ । हिउँदे बालीनालीलाई चाहिने पानीको याममा हिउँ पर्दा यहाँका किसानलाई राहत हुने चन्दननाथ नगरपालिका–२ का रमिला भण्डारीले बताए ।

वर्षात्ले हिउँदे बालीलाई फाइदाजनक पुग्ने कृषि विकास कार्यालयले जनाएको छ । सिँचाइ सुविधा नभएर ठाउँमा यो हिउँले गहुँ, जौबाली, हिउँदे फलफूलकादेखि स्याउका नयाँ बिरुवालाई राहत हुने कार्यालयका प्रविधिक सुकिराम नेपालीले बताए । स्याउका बिरुवा रोप्ने समय आएको छ । फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक रहेको यहाँका किसान बताउँछन् ।

हिउँ परेपछि अत्यधिक जाडो बढाएको छ । हिमपात भइरहेको छ रोकिएको छैन हिउँले जिल्लाको धेरैजसो ठाउँमा जाडो बढाएको छ । जाडोले जनजीवन प्रभावित भएको चन्दननाथ नगरपालिका स्थानीयवासी विशाल नेपालीले बताए । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । प्रशासनले चिसोबाट बच्न न्यानो भएर बस्न आग्रह गरेको छ ।

जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताए । प्रशासनले बालबालिका र वृद्धालाई न्यानो तथा शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध गरेको छ । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्