स्वास्थ्यमन्त्री खतिवडाद्वारा ल्होसारको शुभकामना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले २६०६ औँ तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

मन्त्री खतिवडाले जारी गरेका विज्ञप्तिमा गुरुङ समुदायको नयाँ वर्ष ल्होसार पर्वले तमु जातिलगायत सम्पूर्ण नेपालीमा हार्दिकता, सहिष्णुता, सद्भाव र सम्मान कायम गर्ने विश्वास व्यक्त गरिएको छ । विविध रङका फूलको साझा फूलबारीका रुपमा रहेको मुलुकमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता भएकाले एक अर्काको धर्म, संस्कृति, परम्परा र रीतिरिवाजप्रति उच्च सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो देशमा समुदाय तथा स्थान विशेषअनुसार फरक–फरक भाषा, धर्म, संस्कृति, वेषभूषा रहेका छन्, जुन हाम्रो गहना हो, यस्ता विविध खालका परम्परा र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु राज्यको कर्तव्य हो ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा केही वर्षयता भित्रिएको र महामारीका रुपमा विश्वलाई ज्यादै दुःख दिएको कोरोनाअर्थात् कोभिड–१९ नियन्त्रणमा विभिन्न प्रयास गर्दै आएको उल्लेख गरिएको विज्ञप्तिमा रोगको प्रभाव पछिल्लो कालमा निक्कै कम पार्न सफल भएको जनाइएको छ ।

पछिल्लोपटक यसको तेस्रो लहरका रुपमा ओमिक्रोन भाइरसको उत्पत्तिले यसलाई नियन्त्रण गर्न सबैको साझा प्रयासको खाँचो औँल्याइएको विज्ञप्तिमा चाडपर्वमा भीड नगरी स्वास्थ्य मापदण्ड पालना गरी संस्कृतिलाई संरक्षण गर्न आग्रह गरिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्