तनहुँ कारागारमा महिला बन्दीगृह

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृह सञ्चालन अन्तिम चरणमा पुगेको छ । महिला कैदीबन्दीलाई राख्न कारागार परिसरमै महिला बन्दीगृह सञ्चालनमा ल्याउने तयारी थालिएको छ  । महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेको छ । जिल्लामै महिला बन्दीगृह बनेपछि महिलालाई राख्न सहज हुने कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालनमा ल्याइने अधिकारीले बताए । कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाउन लागिएको हो । गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयमार्फत रु २० लाख बजेटको काम भए पनि बजेट अपुगपछि चालु आवमा कारागार व्यवस्थापनले रु २० लाख बजेट विनियोजन गरेको थियो ।

एन्जल कन्स्ट्रक्शनले महिला बन्दीगृह निर्माणको जिम्मा पाएको छ । बीस जना क्षमताको महिला बन्दीगृह माघदेखि सञ्चालनमा ल्याउने तयारी छ । निर्माणको म्याद पुस मसान्तसम्म रहे पनि यही पुस २० गतेभित्र काम सकेर आगामी माघ १ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य छ ।

“महिला बन्दीगृह नहुँदा कैद सजाय भुक्तानका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता छ, बन्दीगृह सञ्चालनमा आएपछि सहज हुन्छ”, उनले भने । कारागारको सवारी साधन नहुँदा महिला बन्दीगृहलाई अदालतबाट अन्यत्र जिल्ला लैजान पनि समस्या हुँदै आइरहेको छ । तनहुँ जिल्ला कारागारमा हाल २५८ कैदीबन्दी छन् । एक सय १५ क्षमताको कारागारमा १४४ कैदी र ११४ थुनुवा छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्