पाल्पा । तानसेन नगरपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । सत्तरी वर्षमाथि नागरिक, क र ख वर्गको सुविधा प्रयोग गर्ने अपाङ्गका लागि आवश्यकमात्रामा सेवा थालनी गरेको हो ।
तानसेन नगर प्रमुख अशोककुमार शाहीले नगरपालिका र रेडक्रस सोसाइटीका सहयोगमा एम्बुलेन्स सञ्चालन गर्न थालिएको जानकारी दिए । नगरपालिकाको ६० र सोसाइटीको ४० प्रतिशत लगानीमा एम्बुलेन्स गरी खरिद गरी सञ्चालन गर्ने तयारी भएको नगरप्रमुख शाहीले बताए ।यसैबीच सो नगरपालिकाले तानसेन–९, दमकडास्थित दमकडा माध्यमिक विद्यालयका लागि बस खरिद गर्न सहयोग गर्ने भएको छ । विद्यालयको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशतमा बस खरिद गरिने जनाइएको छ । बस सञ्चालनपछि ग्रामीण क्षेत्रका विद्यार्थी समयमा विद्यालयमा उपस्थित हुन सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताए यसैबीच आव २०७८-०७९ मा जिल्लाका ७० वर्षदेखि माथिका पाँच हजार ४०० ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सुविधा प्रदान गरिने भएको छ ।
ज्येष्ठ नागरिकलाई १० प्रकारको औषधिसमेत सहित प्रेसर जाँच, युरिन जाँच, घाउँ तथा चोटपटकको उपचार, आवश्यकताका आधारमा स्वास्थ्य परीक्षणको सुविधा प्रदान गर्न थालिएको हो । लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार पाल्पाका ज्येष्ठ नागरिकका घरमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परीक्षण गरी उपचार गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए । ज्येष्ठ नागरिकलाई आधारभूत सेवा प्रदान गर्न प्रदेश सरकारले रु २७ लाख बजेट विनियोजन गरी कार्यक्रम अगाडि बढाएको हो । आव २०७५-०७६ देखि ८४ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरघरमै स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनपछि स्वास्थ्य क्षेत्रमा ती नागरिकको पहुँच विस्तार भएको थियो ।
चालू आर्थिक वर्षदेखि ७० वर्षमाथिका ज्येष्ठ नागरिकका आधारभूत स्वास्थ्य सुविधा पाउने सुविधाले उत्साह थपेको छ । घरमा साहारा नपाएर आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित, असाहाय, स्वास्थ्य संस्थाको पहुँचमा नपुगेका ज्येष्ठ नागरिकका लागि कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । –रासस