गर्भवतीलाई पौष्टिक आहार उपहार

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । बेनी–१ रत्नेचौरमा गर्भवतीलाई पौष्टिक आहार उपहार दिने गरिएको छ । नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्यूनीकरण र मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन आमा समूहले पौष्टिक आहार उपहार दिने गरेका हुन् ।

साविक रत्नेचौर गाविसको नौवटा वडास्तरमा स्वास्थ्य आमा समूह सक्रिय छन् । हरेक महिनाको ३ गते बस्ने बैठकमा गर्भवतीलाई रु ५०० मूल्य बराबरको पौष्टिक आहार उपहार दिने गरिएको सङ्गम आमा समूहका सदस्य अस्मिता बोगटीले जानकारी दिनुभयो । “गर्भवती भएको जानकारी पाएपछि अण्डा, गेडागुडी र सरसफाइका सामग्री उपहार दिने गरिएको छ”, उनले भने , “स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिको समेत उपस्थितिमा बस्ने बैठकमा टोलका विकास र सामाजिक गतिविधिदेखि हजार दिनका आमा बच्चाको स्वास्थ्य, पोषण र सरसफाइ विषयमा छलफल गर्छौँ ।”

समूहका बैठकमा सहभागी भएर सिकेको ज्ञानले बुहारी गर्भवती र सुत्केरी हुँदा स्याहारसुसार गर्न सजिलो भएको रत्नेचौर उपल्लाचौरकी देवी थापामगरले बताए । उनकी बुहारी कमला दुई महिनाअघि सुत्केरी भएका थिए । आमा समूहको बैठकमा नियमित सहभागी हुने रत्नेचौर उपल्लाचौरकी सीता थापा दुई महिनाअघि सुत्केरी भएका थिए । आमा समूहले दिने सहयोगले गर्भवती अवस्थामा हौसला मिलेको, आत्मबल बढेको र सिकेका ज्ञान बच्चा र आफ्नो स्वास्थ्यका लागि उपयोगी भएको थापाले बताए ।

रत्नेचौरका जनप्रतिनिधिले आमा समूहको मागअनुसार पोषण प्रवद्र्धन र सचेतना अभिवृद्धिका लागि बजेटको समेत व्यवस्था गरेका छन् । आमा समूहको सक्रियता र पोषणसम्बन्धी कार्यक्रम बच्चा र आमाको स्वास्थ्य अवस्था सुधार तथा कुपोषण न्यूनीकरणमा प्रभावकारी बनेको रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले बताए । उनले स्वास्थ्य स्वयंसेविका प्रोत्साहन तथा पोषण सुधारका लागि चालु आर्थिक वर्षमा रु एक लाख बजेट विनियोजन गरिएको जानकारी दिए । विगतका वर्षमा पनि सोही अनुपातमा बजेट विनियोजन गरिएको थियो । सो बजेटबाट महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता विकासका साथै वडाका गर्भवतीलाई पौष्टिक र सरसफाइका सामग्री लिएर जनप्रतिनिधिले घरभेट गर्ने गरिएको वडाध्यक्ष रावलले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्