गाउँपालिकाको केन्द्र जोड्ने सडकमा जोखिमपूर्ण यात्रा

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडकको यात्रा जोखिमपूर्ण बनेको छ । बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरि गाउँपालिकाले यही पुस १३ गतेदेखि दरबाङ–धारापानी–ताकमहुँदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारीसाधन आवतजावत बन्द गरेका थिए ।

विकल्पका रुपमा सञ्चालन गरिएको दरबाङ–खारा–भारबाङ–ताकम–मुना वैकल्पिक सडकअन्तर्गत मालिका र धवलागिरि गाउँपालिकाको सिमानामा पर्ने भारबाङस्थित म्याग्दी नदीमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपरेको हो । गाउँपालिका र निर्माण कम्पनीले म्याग्दी खोलामा सातवटा ह्युम पाइप राखेका थिए । खोलाको पानी ह्युम पाइपभन्दा बाहिरबाट बगेको हुनाले जीप, बस, मोटरसाइकल र ट्र्याक्टर आवतजावत गर्न जोखिम भएको यातायात व्यवसायी ओम विकले बताए । सवारीसाधनका इञ्जिन पानीमा डुब्ने र मोटरसाइकलाई खोलाले बगाउने खतरा रहेको उनले जानकारी दिए । भारबाङदेखि ताकम जोड्ने सडकमा ग्रेड र घुम्ती नमिलेकाले सवारी चलाउन अप्ठ्यारो भएको बस चालक रामजी थापाले बताए ।

झारबाङ घाटमा पूर्वाधार विकास कार्यालयले ४० मिटर लामो पक्की पुल पनि निर्माण गरिरहेको छ । गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको पुलको दुई तर्फ पिल्लर मात्र ठडिएको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले म्याग्दी खोलामा थप ह्युम पाइप राख्न, सडक मर्मत गर्न र मोटरबेल पुल निर्माणलाई पूर्णता दिन सम्बद्ध निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । विसं २०७५ मा मार्ग खोलिए पनि दरबाङ–बिम–ताकम–मुना सडकमा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा यातायातका साधन सञ्चालन हुनसकेको थिएन । बर्खा अघिनै म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सकेर सडक सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीसँग २०७६ चैत ४ गते रु १४ करोड ३८ लाख ६७ हजार १७६ मा ठेक्का सम्झौता गरेको धुलिखेल–ब्राइट–कुवर जेभीले बादिकाको उकालोमा वैकल्पिक सडक निर्माण गरिरहेको छ । यसअघि मार्ग खोल्न बनाइएको सडक धेरै उकालो र ग्रेड नमिलेकाले जोखिमयुक्त भएको हुँदा दुई वटा घुम्ती थपेर करिब चार सय मिटर नयाँ मार्ग निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए ।आगामी चैत ४ गतेसम्म ठेक्का अवधि भएको आयोजनाअन्तर्गत सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ती सुधार र पर्खाल निर्माण भइरहेको छ । दरबाङको म्याग्दी खोला मोटरेबल पुलदेखि दङखोला सम्मको खण्डमा विस्तार र पर्खालको काम सकेर नाली बनाउने काम भइरहेको छ ।

दरबाङदेखि धारापानी गाउँसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो । दरवाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले ‘क’ वर्गमा राखेको छ । सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणाअनुसार यो आयोजना सञ्चालन भएको हो । पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको धारापानीसम्मको सडक स्तरोन्नतिको हालसम्मको प्रगति ३६ प्रतिशत छ । स्तरोन्नति गरेर सडकलाई आठ मिटर फराकिलो बनाइने भएको छ । ग्राबेल गरिने सडकको ग्रेड र घुम्ती मिलाउनाका साथै ग्याबिन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान गर्ने लक्ष्य छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्