जाडो बढ्दै गएपछि स्थानीय तहद्वारा विद्यालय बन्द

Ad
  • कालोपाटी सम्बाददाता

काभ्रेपलाञ्चोक । जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन् । चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन् ।

तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्ताका लागि आफ्नो क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालद्वारा जारी सूचनामा विद्यालय आउने बालबालिकामा चिसो बढिरहेकाले पठनपाठनमा कठिनाई हुँदै गएकाले गाउँपालिकाद्वारा एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

यस्तै, रोशी गाउँपालिकाले गत शुक्रबारदेखि दश दिनका लागि विद्यालय बन्द गराएको छ । शिक्षा शाखा अधिकृत रामबहादुर तामाङका अनुसार प्रतिकूल मौसमका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले चिसोबाट बालबालिकामा हुने स्वास्थ्य जोखिमबाट बच्न दश दिनका लागि विद्यालयमा पठनपाठन बन्द गराइएको हो ।

धुलिखेल नगरपालिकाले पनि गत बिहीबारदेखि आफ्नो क्षेत्रका विद्यालय एक हप्ताका लागि बन्द गराएको छ । गत मङ्गलबार र बुधबारको वर्षापछि चिसो बढेको जनाउँदै नगरपालिकाद्वारा जारी सूचनामा तापमान न्यून भई जाडो बढिरहेकाले सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न आग्रह गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्