बढ्दो चिसोका कारण धनुषाका तीन तहले दियो विद्यालयमा बिदा

Ad
  • कालोपाटी सम्बाददाता

धनुषा ।  बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गरी धनुषाको तीन स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालय बिदा दिएका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् । बढ्दो चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको र विद्यालयमा बालबालिकाको उपस्थितिसमेत पातलिएकाले आजदेखि शनिबारसम्म नगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय गरेको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय प्रमोदकुमार घिमिरेले जानकारी दिए ।

यस्तै, नगराइन नगरपालिकाले पनि अगामी पाँच दिनका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको जनाएको छ । अत्यधिक चिसो र शीतलहरका कारण पठनपाठनमा समस्या भइरहेकाले आजदेखि पाँच दिनका लागि नगर क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, लक्ष्मीनियाँ गाउँपालिकाले पनि गाउँपालिकास्थित विद्यालयमा आजदेखि अर्को सूचना नहुन्जेलसम्मका लागि बिदा दिएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशङ्कर यादवले सूचना जारी गरी चिसोका कारण विद्यालयमा बिदा दिएको जानकारी दिए ।

विगत केही दिनयता बढ्को अत्यधिक चिसो र शीतलहरका कारण प्रदेश २ का जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाँ लगायतका बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

विगत तीन दिनदेखि घाम नउदाउनाका साथै चिसो हावा चलेका कारण सर्वसाधार आगो बालेर दिन बिताउन बाध्य भएका छन् । चिसो बढेपछि ग्रामीण तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ । चिसो बढ्पछि बजारमा सर्वसाधारणको चहलपहल घटेको जनकपुरका व्यापारीले बताएका छन् । —रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्