चेपाङ बालबालिकालाई लायन्सको न्यानो कपडा

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित सूर्योदय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीलाई लायन्स क्लब अफ तनहुँ दमौलीले न्यानो कपडा सहयोग गरेको छ ।

विद्यालयमै पुगी क्लबले मङ्गलबार विपन्न चेपाङ बालबालिकालाई न्यानो कपडा सहयोग गरेको हो । न्यानो कपडाको अभावमा जाडो महिनामा काम्दै विद्यालय आउने गरेको थाहा पाएपछि क्लबले ३० चेपाङ बालबालिकालाई स्वेटर र टोपी सहयोग गरेको क्लबका निवर्तमान अध्यक्ष एवं लायन्स क्लब ३२५ वी १ नेपालका डिष्ट्रिक्ट चियरपर्सन सरोज भण्डारीले जानकारी दिनुभयो । “चेपाङ बस्तीका बालबालिकाको अवस्था दयनीय छ, उनीहरुलाई थप सहयोगको खाँचो देखिएको छ,” उनले भने , “खुट्टामा चप्पल छैन, च्यातिएकै कपडा लगाउन बाध्य छन् ।”

चेपाङ बालबालिकाको अवस्था ज्यादै दयनीय रहेको र आगामी दिनमा समेत सहयोग गर्ने क्लबका अध्यक्ष राजु रानाले जानकारी दिनुभयो । “न्यानो कपडा नहुँदा कतिपय विद्यार्थी विद्यालयमा नियमित पनि नभएको पायौँ, न्यानो कपडा पाएपछि नियमित विद्यालय आउने वातावरण बनाउन सकिन्छ भन्ने आशा पलाएको छ,” उनले भने ।

लायन्स क्लब अफ तनहुँ दमौलीले विपन्न वर्गलाई निःशुल्क कपडा सहयोग गर्दै आएको छ । त्यसका लागि क्लबले दमौली बजारमा कपडा बैंक नै खोलेको छ । कपडा बैंकबाट आवश्यक हुनेले कपडा लैजान सक्ने उनले बताए । कपडा बैंकको दिगोपनाका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित क्लबले अङ्ग्रेजी नयाँ वर्षमा साङ्गीतिक कार्यक्रम आयोजना गरेको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्