सडक डिभिजन कार्यालय जुम्लाले सडक मिचेर बनेका संरचना हटाउँदै

Ad
  • कालोपाटी सम्बाददाता

जुम्ला । सडक मिचेर बनेका भौतिक संरचना हटाउन थालिएको छ । सडक डिभिजन कार्यालय जुम्लाले एक महिनादेखि थालेको सडक सुरक्षा अभियान अन्तरर्गत सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज एकजुट भएर सडक अतिक्रमण हटाउन थालिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।

सडक अतिक्रमण हटाउने काम राम्रो भएको नागरिक समाज जुम्ला अध्यक्ष राजबहादुर महतले बताउनुभयो । पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउन बहस हुने गरेको थियो । सडकमा निर्माण भएका घर टहरादेखि अन्य भौतिक संरचना हटाउने काम जनमुखी भएको नागरिक समाजका अध्यक्ष महतले बताए ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार सडकमा जथाभावी रुपमा राखिएका निर्माण सामग्री हटाइएको छ । अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको छ । पहिलो चरणमा बसपार्क क्षेत्रको निर्माण सामग्री हटाइको छ । नापी गरी सकेपछि मात्रै सडक अतिक्रमण गरी बनाएका संचरना भत्काउने तयारी रहेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिटर चौडा हुनुपर्ने छ । त्यसमा एक मिटर फुटपाथका लागि छुट्याइएको थियो । पछिल्लो समय फुटपाथसमेत अतिक्रमण गरेर घर टहरा, होटल बनेका छन् । त्यसैले सडक क्षेत्र पूरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सुचित गरिने र अटेरी गरे एकहप्ताभित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठले बताए । सदरमुकाम खलङ्गा बजार मात्रै नभइ तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहिमा पनि सडक अतिक्रमण बढेकाले हटाउने अभियान रहेको सडक डिभिजनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभइ अतिक्रमण भएको सबै क्षेत्र सहमति वा बल प्रयोग गरेर भए पनि हटाइने बताए । सडक सबै नागरिकको साझा सम्पत्ति भएकोले सडक सुरक्षा सबैको दायित्व भएको उनको भनाइ छ ।  अतिक्रमण हटाउन प्रहरी प्रशासन, सडक डिभिजनले मात्र सम्भव नभएकोले आम नागरिकको सहयोग आवश्यक रहेको प्रजिअ प्रसाईंले बताए । मङ्गलबार डोजर प्रयोग गरेर भत्काइने घरको आँगन, पर्खाल तथा निर्माण सामग्री हटाइएकोमा केही स्थानीयवासीले विरोधसमेत गरेका थिए । अतिक्रमण भएको जग्गा छोड्न तयार भएको तर नापी नक्शा गरेर मात्रै छोड्ने स्थानीयवासीको माग रहेको छ ।

सडक डिभिजनले अतिक्रमण भएको क्षेत्रमा चिन्ह लगाएको छ । केही दिनमा खाली नगरे सिधैँ डोजर प्रयोग गरेर भत्काइनेसमेत चेतावनी दिइएको छ । सडक डिभिजन जुम्लाले पटक–पटक सार्वजानिक सूचनामार्फत कर्णाली राजमार्ग अन्तर्गत विभिन्न खण्डमा घर टहरा, घुम्ती पार्किंङ र निर्माण सामग्री हटाउन वा सडक अतिक्रमण नगर्न अनुरोध गरेपनि स्थानीयवासीले अटेरी गदै आएका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्