तनहुँमा धान उत्पादनमा कमी

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँमा यसवर्ष धान उत्पादनमा कमी आएको छ ।

कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यसवर्ष १६।४५ प्रतिशतले धान उत्पादनमा कमी आएको हो । यसवर्ष ४१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँकी कृषि अर्थविज्ञ प्रकृति न्यौपानेले बताउनुभयो । १० हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमध्ये १२५ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा बाढीपहिरो र वर्षाले क्षति पुगेको थियो ।

गतवर्ष जिल्लामा १२ हजार ६८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ५० हजार २३ मेट्रिक टन धान उत्पादन भएको थियो । एक हजार ७८२ हेक्टर क्षेत्रफल घट्दा उत्पादन आठ हजार ५६ मेट्रिक टन कम भएको ज्ञान केन्द्रले जनाएको छ । बाढी पहिरोसँगै धान लगाउने क्षेत्रफल कम भएकाले बर्सेनि धान उत्पादन घटिरहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । “यो वर्ष धान रोप्ने वित्तिकै आएको बाढी र पाकेर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षाका कारण उत्पादन घटेको हो”, उनले भने , “अर्कोतर्फ बर्सेनि धान लगाउने क्षेत्रफल घट्दा पनि उत्पादन कम हुँदैछ ।”

गाउँका टारीखेत जनशक्ति अभावमा बाँझो हुँदै गएको छ । राजमार्ग छेउछाउ र बजार क्षेत्रमा रहेका उर्वर जमिन प्लटिङ भएर घडेरीमा रुपान्तरण हुँदा धान झुल्नुको सट्टा बडेमानका कङ्क्रिटका घर ठडिएको प्रमुख तिवारीले बताउनुभयो । “बजार क्षेत्रको खेतमा धान फलाउनु भन्दा घडेरीमा बिक्री गर्दा राम्रो मूल्यपर्ने भएकाले धमाधम प्लटिङ भइरहेका छन्,” उनले भने , “यसले गर्दा पनि धानको उत्पादन घटिरहेको छ ।” सरकारले भूमिसम्बन्धी नीति बनाएर खेतीयोग्य जमिनमा घरटहरा बनाउन नपाइने प्रावधान लागू नगरेसम्म बर्सेनि धान उत्पादन घट्ने र परनिर्भरता बढ्ने प्रमुख तिवारीको भनाइ छ ।

यो वर्ष चैते धान उत्पादनमा भने वृद्धि भएको छ । कार्यालयका अनुसार यसवर्ष छ हजार ८४५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकामा १६ हजार ८९८ मेट्रिक टन चैते धान उत्पादन भएको छ । गत वर्ष चार हजार ३२५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ११ हजार ३१ मेट्रिक टन उत्पादन भएको थियो ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, ब्यास नगरपालिकास्थित शेराफाँट, बाह्रबिसे, साँगे, तनहुँसुर, भानु नगरपालिकास्थित सेपाबगैँचा, कलेस्ती, पुर्कोट, घिरिङ गाउँपालिकास्थित गजरकोटको अत्रौली, आँबुखैरेनी लगायतका फाँटमा धान उत्पादनका लागि उर्वर क्षेत्र हुन् । जिल्लाका किसानले सावित्री, मन्सुली, मकवानपुरे, रामधान सुख्खा १, सुख्खा २ लगायतका उन्नत जातका धान लगाउने गर्दछन् ।

टाइचिन, बास्मतीलगायतका केही रैथाने जातका धान पनि जिल्लाका किसानले छिटफुट रुपमा लगाउने गर्दछन् । तर रैथाने जातका धान किसानले निकै कम लगाउने कार्यालयले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्