आश्रममा आश्रय लिइरहेका सहयोगापेक्षीलाई लक्ष्य गरी ‘भोजनका लागि भजन सन्ध्या’ अभियान

Ad
  • कालोपाटी सम्बाददाता

मानव सेवा आश्रममा आश्रय लिइरहेका सहयोगापेक्षीलाई लक्ष्य गरी ‘भोजनका लागि भजन सन्ध्या’ अभियान थालिएको छ । आश्रितका लागि दैनिक भोजन जुटाउन अभियान सुरु गरिएको आश्रमकी सञ्चालिका सुमिरा लामाले बताए ।देशभरका आश्रम दान र सहयोगका भरमा सञ्चालित छन् । कतिपय आश्रमलाई भोजन सेवा चलाउन नै धौधौको स्थिति छ । आश्रम, बागलुङ शाखाकी संयोजकसमेत रहनुभएकी उनले अभियानअन्तर्गत आज साँझ यहाँ भजन सन्ध्याको आयोजना गरिएको जानकारी दिए ।

राष्ट्रिय परोपकार भजन सङ्कीर्तन समूहले प्रस्तुत गर्ने भजनमा गायक दिनेश मगरलगायत कलाकार छन् । “आश्रममा साँझबिहानको भोजन सेवा सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम राखिएको हो”, सञ्चालिका लामाले भन्नुभयो, “आश्रम रहेका देशभरका जिल्ला र सहरमा यो अभियान पुग्छ ।” अभियानका क्रममा दाताले भोजन र सेवाका लागि सहयोग गरिरहेको जनाइएको छ ।

कतिले आफ्नो जन्मदिनलगायत शुभकार्यका अवसरमा भोजन सेवा गर्ने कबोल गर्ने गरेका छन् । तत्कालै नगद, खाद्यन्न र भोजन सेवामा चाहिने जिन्सी सामान सहयोग गर्ने दाताहरु पनि उत्तिकै छन् । ‘सबैका लागि नाना, खाना र छाना हाम्रो चाहना’ भन्ने उद्घोषसहित सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल बनाउने अभियानमा आश्रम क्रियाशील छ । गत महिना मात्र गण्डकीलाई सडक मानवमुक्त प्रदेश घोषणा गरिएको थियो ।

देशभर आश्रमका १४ शाखा छन् । बागलुङमा २०७२ मा आश्रम खुलेको हो । त्यसयता यहाँका १२० भन्दाबढी सडक मानवलाई उद्धार गरिएको आश्रमले जनाएको छ । आश्रमले बेसहारा, अशक्त र अभिभावविहीनको उद्धार तथा संरक्षण गर्दै आएको छ । अहिले आश्रममा ४८ आश्रित छन् ।सरकारी निकाय र दाताहरुको सहयोगमा आश्रमको आफ्नै भवन निर्माणाधीन अवस्थामा छ । बागलुङ नगरपालिका–४ निरयघाटमा रु दश करोडको लागतमा आश्रम बनाउन लागिएको निर्माण समितिका अध्यक्ष शिव खड्काले बताए । आश्रम निर्माणमा सङ्घ, प्रदेश र स्थानीय सरकारको समेत लगानी छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्