लेतेखोलामा मोटर चल्ने पुल निर्माण

Ad
  • कालोपाटी सम्बाददाता

मुस्ताङ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित लेतेखोलामा मोटर चल्ने पक्की पुल निर्माण गरिएको छ । उक्त सडक आयोजनाले लेतेखोलामा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणका लागि विसं २०७५ भदौमा रु छ करोड २० लाखमा गजुरमुखी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

आयोजनाका व्यवस्थापक नरेन्द्र न्यौपानेले निर्माण गरिएको पुल यातायात सञ्चालनका लागि योग्य भएको जानकारी दिए । “छेउमा रेलिङ राख्ने र रङरोगन गर्ने काम हिमपातले रोकिए पनि गाडी चलाउन सकिन्छ”, उनले भने , “पहुँचमार्ग र पुलको संरचनाको निर्माण सकिएको छ । बाँकी काम सकेर हस्तान्तरणको तयारीमा छौँ ।”लेतेखोलामा हाल अस्थायी बेलिब्रिजबाट यातायात सञ्चालन हुुँदै आएको छ । पक्की पुल निर्माण भएसँगै लेतेखोलाको बेलिब्रिज अन्यत्र स्थानान्तरण गर्ने तयारी भएको आयोजनाले जनाएको छ ।

एकसय छयासी किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकमा लेतेखोलासहित नौवटा मोटर चल्ने पुल निर्माण गरिएको र बाह्रवटा पुल निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख जगत प्रजापतिले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्