राष्ट्रिय एकता दिवस संयुक्त रूपमा मनाउन सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उपत्यकाका विभिन्न प्रतिष्ठानले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस संयुक्त कार्यक्रम सुरु गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानले तीनदिने कार्यक्रम घोषणा गरी आजदेखि राष्ट्रिय एकता दिवस मनाउन सुरु गरेको हो ।

पहिलो दिन आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजक संस्थाबाट प्रकाशित पुस्तकहरुको प्रदर्शनी सुरु गरिएको छ । प्रदर्शनी एक हप्तासम्म चल्ने नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए । सोही दिवसको सन्दर्भ पारेर आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा दोस्रो कार्यक्रमस्वरूप ललितकला प्रदर्शनीसमेत सुरु गरिएको छ । उक्त प्रदर्शनी पनि एक हप्तासम्म जारी रहने प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए ।

प्रदर्शनीमा १३४ कलाकारका सिर्जना राखिएको कार्यक्रम संयोजक प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सुष्मा राज भण्डारीले जानकारी दिनुभयो । उक्त प्रदर्शनीमा मूर्त–अमूर्त, यथार्थवादी, प्रतीकात्मक, समसामयिक तथा मिथिला कला समावेश छ । चित्रकला प्रदर्शनीले सांस्कृतिक विविधता भएको नेपालको एकतालाई प्रतिनिधित्व गरेको प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य रमेशनाथ खनालको प्रतिक्रिया छ ।

चारवटै संस्थाको संयुक्त आयोजनाका भएको कला प्रदर्शनीको उद्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले राष्ट्रिय एकता दिवस जस्तै अन्य कार्यक्रममा पनि सहकार्य बढाउनुपर्नेमा जोड दिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले आज प्रदर्शनीमा राखिएका चित्रले राष्ट्रिय एकतालाई जोड दिएको बताए । यद्यपि यहाँ प्रदर्शित चित्रमध्ये दुई÷चारबाहेक पृथ्वीनारायण शाह र राष्ट्रिय एकताको सन्देश दिने खालका सिर्जना भने देखिँदैन । समारोहमा प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले प्रदर्शनीका बारेमा जानकारी दिएका थिए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले हरेक प्रतिष्ठानले आ–आफ्नै विधागत रूपमा काम गरिरहेको जानकारी दिँदै सोहीअनुसार कार्यक्रम घोषणा गरी एकता दिवस मनाउन थालिएको बताउनुभयो । उनका अनुसार सोमबार प्रतिष्ठानमा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गरेको बेला समुदायको भूमिका के थियो भन्ने विषयमा छलफल कार्यक्रम राखिएको छ ।

यस्तै, मङ्गलबार बिहान प्रतिष्ठानबाट बाजा र सांस्कृतिक झाँकीसहितको याली निकालिने र सिंहरदबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । यस्तै, सोही दिन दिउँसो ३ बजेदेखि राष्ट्रिय नाचघरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने जनाइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्