पुँजीगत खर्चको गति बढाउन अर्थमन्त्रीको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ । अर्थमन्त्रालयमा आज आयोजित चालु आवको हालसम्मको खर्चको समीक्षा बैठकमा उहाँले सचिवहरूलाई सो आग्रह गर्नुभएको हो ।

आवश्यक परेको समयमा आफू सधैँ सहयोग गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री शर्माले जसरी पनि खर्च गर्न आग्रह गर्नुभयो । “आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपाय खोज्ने उल्लेख गर्दै उहाँले जसरी पनि खर्च बढाउन आग्रह गर्नुभयो ।

ठूला योजनामा स्थानीय तह र स्थानीयवासीलाईसमेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ठूला योजनामा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने मन्त्री शर्माको भनाइ थियो । विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै मन्त्री शर्माले डिजिटल माध्यममा लैजानुपर्नेमा जोड दिनुभयो ।

“फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ”, उहाँले भन्नुभयो, “यसलाई डिजिटल माध्यममा लैजानुप¥यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृत गर्ने हुनुपर्यो ।” पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत बराबर भएको छ । समग्रमा हालसम्ममा २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्