ठेकेदार कम्पनीले पार्यो सडक ढलानको काम अलपत्र, व्यपार–व्यवसायमा असर पुगेको भन्दै स्थानीयद्धारा विरोध

Ad
  • कालोपाटी सम्बाददाता

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै स्थानीयले विरोध जनाएका छन् । दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले काम अलपत्र छाड्दा हिँडडुल गर्नदेखि व्यपार–व्यवसायमा असर पुगेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुङ्गामाटो थुपारेर छाड्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बुधबार स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गएका छन् । मङ्गलबार बसेको व्यवसायीको बैठकले बेस क्याम्पदेखि त्रिवेणीचोकसम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँडडुल गर्नसमेत असहज भएको भन्दै दबाबमूलक अभियान सञ्चालन गर्न उद्योग वाणिज्य सङ्घलाई पहलकदमी चाल्न आग्रह गर्ने निर्णय गरेको थियो ।

त्रिवेणीचोकलेखि नेपाल टेलिकमसम्मको सडक ढलानका लागि बोलपत्र आह्वान गर्नमा समेत ढिलाइ हुँदा दिक्तेलबजारमा ढलान गर्ने योजना बेलामा पूरा नहुने देखिएको व्यवसायीको बैठकको निष्कर्ष छ । बेस क्याम्पबाट त्रिवेणीचोकसम्मको सडक ढलानका लागि बेस क्याम्प क्षेत्रमा सडक खनेर असरल्ल छाड्दा आवतजावत गर्न समस्या भएपछि नगरपालिका र प्रशासनको ध्यानाकार्षण गराइएको उद्योग वाणिज्य सङ्घअन्तर्गतको लत्ताकपडा व्यवसायी उपसमितिका संयोजक सुमन श्रेष्ठले बताउनुभयो ।

निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत असोज २२ गते राति ढलान सकेको थियो । बेस क्याम्पदेखि नेपाल टेलिकमसम्मको सडक ढलान गर्न फराकिलो पार्न थालिए पनि अपेक्षित काम भएको छैन । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्