चिसो बढेसँगै मधेश प्रदेश सरकार कम्बल वितरण

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुर । अत्यधिक चिसो बढे्सँगै मधेश प्रदेश सरकारले कम्बल वितरणलाई तीव्रता दिएको छ । शीतलहरबाट प्रभावितको गरिब, विपन्नहरुको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरणलाई तीव्रता दिएको मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

मधेश प्रदेश सरकारले आज मात्रै महोत्तरीको गौशाला नगरपालिका– ६ स्थित मुसहर बस्तीमा नगरक्षेत्रका ८०० परिवारलाई कम्बल वितरण गरेको छ । यसअघि जनकपुरधाम उपमहानगरपालिका– ७ जानकी नगरका ५०० गरिब, विपन्न परिवारलाई न्यानो लुगा कम्बल वितरण गरेको थियो । ‘‘चिसोबाट प्रभावितको लागि न्यानो लुगा र कम्बलको जोहो गरेका छौं”, मन्त्री साहले भन्नुभयो,‘‘ चिसोबाट प्रभावितलाई कम्बल वितरण गर्न सुरु गरेका छौं, जिल्ला जिल्ला स्थानीय तहसँग समन्वय गरेर कम्बल वितरणको कार्य भइरहेको ।” अहिले दुई हजार १०० थान कम्बल खरिद गरेर वितरण गरिरहेको र आवश्यकता अनुसार अरु पनि खरिद गर्ने मन्त्री साहको भनाइ छ ।

यसवर्ष चिसोको कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणको काम समेत भइरहेको उनले बताए । ‘‘शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा छौं”, मन्त्री साहले भने ‘‘चिसोबाट जोगिन आवश्यकपर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ ।”

विगतमा जाडो बढेपछि चोक–चोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहले बताए । यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले पनि चिसो प्रभावित विपन्न परिवारलाई न्यानो लुगा वितरण थालेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार जिल्लाको सबैला नगरपालिका र मिथिला नगरपालिकाका २८० विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।

‘‘ चिसोबाट सबै क्षेत्र प्रभावित छ, त्यसमा पनि गरिब, विपन्न अत्यधिक समस्यामा छन्”, प्रजिअ पौडेलले भने ‘‘त्यसैले हामीले बढी प्रभावित दुबै ठाउँका विपन्नलाई कम्बल वितरण गरेका छौं ।” अन्य ठाउँका विपन्नलाई पनि कम्बल वितरणका लागि स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय भइरहेको प्रजिअ पोडेलले भने ।

यसअघि गत सातामा मात्र जिल्ला प्रशासन कार्यालयले धनुषाको धनौजीस्थित राष्ट्रिय आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयका २०० बालबालिकालाई स्वीट्र बाँडेको थियो । जिल्लाका थप सामुदायिक विद्यालयका बालबालिकालाई समेत स्वीट्र बाँड्ने योजना रहेको प्रजिअ पौडेलको भनाइ छ । यसका साथै चिसोबाट प्रभावित विपन्न, गरिब परिवारलाई वितरण गर्न युनिसेफ लगायतका दातृ निकायसँग कम्बल माग गरिएको उनले बताए ।

चिसो बढे्सँगै सुरक्षाकर्मीले विभिन्न चोकचोकमा आगो बाल्न दाउरा वितरण थालेका छन् । वर्सेनि चिसोबाट प्रदेश २ मा करिब १५ प्रतिशत नागरिक प्रभाबित हुने गरेको प्रदेश नीति तथा योजना आयोगको तथ्याङ्कले देखाएको छ ।

‘‘प्रदेशको कूल जनसङ्ख्यामध्ये करिब १५ प्रतिशत जनसङ्ख्या दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभावित हुने गरेका छन्”, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले भन्नुभयो,‘‘ अधिकांशसँग चिसोबाट जोगिन ओढ्ने, ओछ््याउने न्यानो लुगा हुँदैन्, त्यसैले चिसोबाट कतिपयले ज्यान समेत गुमाउने गर्छन् ।”

यसैबीच विगत केही दिनयता बढ्को अत्यधिक चिसो र शीलहरका कारण प्रदेश २ का जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण दूधे बालकदेखि वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाँलगायतका बिरामीको चाप बढे्को जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

विगत ३ दिनदेखि घाम नउदानुको साथै चिसो हावा चलेका कारण सर्वसाधारण आगो बालेर दिन बिताउन बाध्य भएका छन् । चिसो बढेपछि ग्रामीण तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमासमेत सेवाग्राहीको चाप घटेको । —रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्