सुनसरीमा तोडफोड र आगजनी : चार करोडभन्दा बढीको क्षति

Ad
  • कालोपाटी सम्बाददाता

सुनसरीको बर्जु गाउँपालिका–६ मा लागेको बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारीलाल यादव नआउने भएपछि आज तोडफोड र आगजनी भएको छ । आयोजकको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज कलाकार यादव नआएपछि तोडफोड तथा आगजनी भएको स्थानीय सरोज चौधरीले बताए ।

आक्रोशित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट बिक्री गरी ठगी गरेको भन्दै महोत्सवमा तोडफोड गरेका हुन् । बर्जु–६ चिमडीस्थित रहेको बर्जु तालको परिसरमा पुस २३ गतेदेखि सुरु भएको उक्त महोत्सवमा आज यादव आउने प्रचारप्रसार गरेको थियो । बढ्दो कोरोनाको तेस्रो लहरका कारण सुनसरी प्रशासनले पुस २७ गतेदेखि महोत्सवमा रोक लगाएको भए पनि सुनसरी प्रशासनको नियमलाई अटेर गर्दै सामाजिक विकास केन्द्रको अगुवाइमा महोत्सव जारी नै रहेको थियो । यादवलाई हेर्न आज बिहानैदेखि सर्वसाधारणको भीड लागेको भए पनि गायक तथा कलाकार यादवलाई मोरङको एक होटलमा रोकेर राखिएको थियो ।

कलाकार यादवको प्रस्तुति हेर्न नपाएपछि दर्शकले आक्रोशित बन्दै स्टेजमा तोडफोड गरेका हुन् । कार्यक्रम तथा प्रस्तुति हेर्नका लागि सुनसरीका विभिन्न पालिकाका सर्वसाधारणको भीड लागेको थियो । आक्रोशित दर्शकको भीडले चारवटा भारतीय नम्बरको स्कारपिओ, एउटा सिटिसफारी, एउटा मोटरसाइकल र एउटा साइकल तोडफोड गर्नुका साथै एक हजार वटा प्लास्टिकको कुर्सी, स्टेज साउण्ड सिस्टम र दुईवटा जेनेरेटर पूर्णरूपले नष्ट गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दुहबीको बा १ झ १४१२ नम्बरको स्कारपियो पिकअप गाडीको अगाडिको सिसामा क्षति पुगेको उनले बताए । कोरोनाका कारण महोत्सव रोक्न भनिएकामा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भीड आक्रोशित बन्दा पछिल्लो घटना सिर्जना हुन पुगेको सुनसरी प्रशासनले जनाएको छ । प्रहरीले तोडफोडमा उत्रिएको भीडलाई हटाउने प्रयास गरे पनि आक्रोशित भीडले प्रहरीलाई प्रवेश नदिएको बताइएको छ ।

आक्रोशित भीड साम्य भएपछि अवस्था नियन्त्रणमा आएको जनाइएको छ । महोत्सवमा भएको तोडफोड तथा आगजानीमा रु चार करोडभन्दा बढीको क्षति भएको स्थानीयवासीले अनुमान गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्